राजधानीमा शुरु भयो दुई दिने अन्तर्राष्ट्रिय महिला दिवस कार्यक्रम

IMG-20250307-WA0321

गान्तोक: सिक्किम सरकारको योजना एवं विकास विभागअधिनस्थ सिक्किम इन्स्पायर्स परियोजना र विश्व स्वास्थ्य सङ्गठनको संयुक्त तत्वावधानमा आयोजित दुई दिवसीय अन्तर्राष्ट्रिय महिला दिवस कार्यक्रमको पहिलो दिनको कार्यक्रम आज यहाँको चिन्तन भवनमा सम्पन्न भयो। कार्यक्रममा महिला एवं बाल विकास विभागका मन्त्री सामडुप लेप्चा मुख्य अतिथि रहेका थिए। उनको साथमा सिक्किम विधानसभाकी उपाध्यक्ष श्रीमती राज कुमारी थापा, विधायक श्रीमती पामिन लेप्चा, गान्तोक नगर निगमकी उपमेयर श्रीमती छिरिङ पाल्देन साथै विभिन्न विभागका शीर्ष अधिकारीहरूको पनि उपस्थिति रहेको थियो।
आजको कार्यक्रमका प्रमुख आकर्षणमा राज्यमा घट्दो जन्मदरमाथि चर्चा प्रमुख रहेको थियो। यसै विषयमा एउटा छोटो सचेतनामुलक वित्तचित्र पनि प्रस्तुत गरिएको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री लेप्चाले राज्यका सम्पूर्ण महिलालाई अन्तर्राष्ट्रिय महिला दिवसको शुभकामना व्यक्त गरे। समाजको प्रत्येक क्षेत्रमा महिलाहरूले समान हक-अधिकार साथै अवसर प्राप्त गर्नुपर्ने कुरामा उनले जोर दिए। कार्यक्रमलाई विधानसभा उपाध्यक्ष श्रीमती राजकुमारी थापा र विधायक श्रीमती पामिन लेप्चाले पनि सम्बोधन गरे।
उल्लेखनीय छ, दुई दिने अन्तर्राष्ट्रिय महिला दिवस कार्यक्रमको मुख्य कार्यक्रम भोलि रानीपुल नजिक सरमसा गार्डनमा सम्पन्न हुनेछ जसमा मुख्यमन्त्री प्रेमसिंह तामाङ मुख्य अतिथि रहनेछन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement