पाकिम: सिक्किम सरकारका महिला, बाल, वरिष्ठ नागरिक अनि दिव्याङ कल्याण विभागको पहलमा आयोजित अन्तराष्ट्रीय महिला दिवस पालन गरियो। पाकिम जिल्लाको रूरवन कम्पलेक्समा आयोजित कार्यक्रममा पाकिम जिल्लाका अतिरिक्त जिल्लापाल रबिन सेवाले आफ्नो सम्बोधनमा महिलाहरूको स्वास्थ्यमा प्रभाव पार्ने विभिन्न समस्यामाथि उल्लेख गरे। महिला एवं बाल विकास विभागकी उपनिर्देशक डिकित लेप्चाले बेटी बचाओ बेटी पढाओ कार्यक्रममाथि जोड दिँदै महिलाहरूको समानता र विकासका लागि बेटी बचाओ बेटी पढाओ पहलको महत्त्वमाथि प्रकाश पारिन्। उनले कार्यशाला र जागरूकता अभियानहरू मार्फत महिलाहरूलाई सशक्तिकरण गर्ने योजना रहेको बताइन्। महिलाहरूलाई यौन उत्पीडनबाट जोगाउन र सुरक्षित वातावरण सुनिश्चित गर्ने उद्देश्यले पोक्सो ऐन लागु गरेको बताइन्। एम्पावरमेन्ट फर वुमनकी जिल्ला मिसन संयोजक सृष्टिका शर्माले यस ऐनमाथि जानकारी गराइन्। जसले महिलाहरूको गुनासोलाई सुन्दै कार्यस्थलमा सुरक्षा र सम्मानको संस्कृति प्रवर्द्धन गर्दै आएको छ। सोही प्रकारले कुसुम शर्माले समानता र महिला अधिकारबारे बताइन्। उनले समाजभित्र महिलाहरूको सम्मान र सुरक्षा कायम राख्न प्रत्येकको जिम्मेवारी महत्वपूर्ण हुने बताए। यसका साथै, उनले महिला समानताको आवश्यकतामाथि बोल्दै महिलाहरूको व्यावहारिक र रणनीतिक आवश्यकताहरूबारे बताइन्।