गान्तोक: वर्ष २०२४ को निम्ति साहित्य अकादमी पुरस्कार प्रापक साहित्यकार कथाकार युवा बराल ‘अनन्त’ आफ्नी सहधर्मिणीको साथमा आज दिल्ली प्रस्थान भएका छन्। उनले आगामी ८ मार्चको दिन नयाँ दिल्लीको कोपर्निकस मार्ग स्थित कमानी अडिटोरियममा साहित्य अकादमी नयाँ दिल्लीका अध्यक्षको बाहुलीबाट सो पुरस्कार ग्रहण गर्नेछन्। भारतको संविधानको आठौँ अनुसूचीमा अन्तर्भुक्त सबै भाषा साहित्यका २०१८ देखि २०२२ सम्म प्रकाशित उत्कृष्ट कृतिलाई यो पुरस्कार दिइनेछ। नेपाली भाषामा २०२४ सालको निम्ति सिक्किमका साहित्यकार कथाकार युवा बराल ‘अनन्त’ को २०१८ मा प्रकाशित ‘छिचिमिरा’ कथा सङ्ग्रहले यो पुरस्कार जित्न सफल भएको हो। साहित्य अकादमी नयाँ दिल्ली र भारत सरकारको संस्कृति विभागको संयुक्त तत्वावधानमा आयोजित एसिया कै सबैभन्दा वृहत साहित्यिक महोत्सव “Festival of Letters 2025” जो मार्च ७ देखि १२ मार्चसम्मको अवधिमा ८ मार्चको दिन साहित्य अकादमी पुरस्कार अलङ्करण समारोह रहनेछ भने ९ मार्चको दिन “लेखकसँग भेट” कार्यक्रम अन्तर्गत सबै पुरस्कृत साहित्यकारहरूमाझ एका अर्कामा आ-आफ्नो अनुभव साझा गर्ने मौका रहनेछ। यी छ: दिनव्यापि साहित्यिक महोत्सवमा देशका सबै मान्यताप्राप्त भाषाका विद्वत साहित्यिक महानुभाव, सर्जकगण तथा अध्येताहरूको विविध प्रस्तुतिसँगै विभिन्न समयमा महत्वपूर्ण सङ्गोष्ठी रहनेछ।