गान्तोक: आजदेखि राजधानीको एमजी मार्गमा तीन दिवसीय इन्द्रजात्रा २०२२ भव्यताको साथमा शुभारम्भ भयो। आजको पहिलो दिनको कार्यक्रममा सिक्किम विधानसभाका अध्यक्ष अरुण उप्रेती मुख्य अतिथिको रुपमा उपस्थित थिए भने एनएचपीसीका अध्यक्ष प्रशान्त प्रधान लगायत अन्यको विशेष उपस्थिति रहेको थियो। सिक्किम नेवार गुठीद्वारा आयोजित कार्यक्रममा राष्ट्रिय लोक नृत्य प्रतियोगिता सम्पन्न भयो। देशका विभिन्न क्षेत्रका नृत्य कलाकारहरूले आ-आफ्नो नृत्य प्रस्तुत गरे। विभिन्न क्षेत्रमा उत्कृष्ट कार्य गर्ने सिक्किमका नेवार समुदायका विशिष्ट व्यक्तित्वहरूलाई उपस्थित मुख्य अतिथिको बाहुलीबाट सम्मान जनाइयो। सम्मानित व्यक्तित्वहरूमा बडी बिल्डर भविका प्रधान, ताइक्वाण्डो खेलाड़ी स्नेहा प्रधान, शुभेक्षा प्रधान, एलिना प्रधान, गीताञ्जली प्रधान रहेका छन्। यी सबैलाई मुख्य अतिथि एवं सिक्किम विधानसभा अध्यक्ष अरुण उप्रेतीको बाहुलीबाट प्रशस्ति पत्र हस्तान्तरण गरियो।
मुख्य अतिथिको आसनबाट बोल्दै विधानसभा अध्यक्ष उप्रेतीले सिक्किम क्रान्तिकारी मोर्चा पार्टीको सरकार गठन भएदेखि राज्यमा विभिन्न जात धर्मको चाड़-बाड़ आयोजन गर्नको निम्ति स्वतन्त्रता पाएको मन्तव्य व्यक्त गरे। यसका साथै अहिले कुनै पनि जातीय अनि धार्मिक कार्यक्रममा राजनीतिक हस्तक्षेप नहुने गरेको प्रष्ट पार्दै एसकेएम सरकारमा सिक्किमेली जनताले यो स्वतन्त्रता पाएकोमा खुशी व्यक्त गरे। उनले सिक्किम नेवार गुठीलाई भव्यताको साथमा कार्यक्रम आयोजन गरेकोमा बधाई अनि शुभकामना पनि दिए।
अधूरो रहेको नेवार गुठीको भवन निर्माण गर्नको निम्ति वर्तमान सरकारले ४.३२ लाख रुपियाँ धनराशि आवण्टन गरिदिएकोमा सिक्किम नेवार गुठीका अध्यक्षले सम्पूर्ण नेवारहरूको पक्षबाट मुख्यमन्त्री प्रेमसिंह तामाङलाई धन्यवाद दिँदै आभार व्यक्त गरेका छन्। अर्को वर्षको इन्द्रजात्र उक्त भवनमा आयोजन गर्ने उनले आशा व्यक्त गरे।
राजधानीको एमजी मार्गमा आजदेखि शुरु भएको यो उत्सव आगामी ९ सेप्टेम्बरको दिन समापन हुनेछ। समापन कार्यक्रममा राज्यका मुख्यमन्त्री प्रेमसिंह तामाङको उपस्थिति रहनेछ। उक्त दिन माता कुमारीको जात्र पनि आयोजना गरिने आयोजक समितिले जानकारी गराएको छ।