नयाँ दिल्ली: प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वमा बुधबार बसेको केन्द्रीय मन्त्री परिषद् बैठकले देशभरका १४ हजार ५ सय विद्यालयलाई स्तरोन्नति गर्ने निर्णय गरेको छ। यी विद्यालयहरूलाई पीएम-श्री स्कूल योजना अन्तर्गत अपग्रेड गरिनेछ। यी विद्यालयहरूमा केन्द्रीय विद्यालय र नवोदय विद्यालयहरू पनि समावेश हुनेछन्। यसका साथै रेलवेको जग्गा दीर्घकालीन भाडामा लिने निर्णय पनि मन्त्री परिषद्ले गरेको छ। यी जग्गाहरू प्रधानमन्त्री गति शक्ति फ्रेमवर्क अन्तर्गत प्रयोग हुनेछन्। यी जग्गामा आउँदो ५ वर्षमा ३ सय कार्गो टर्मिनल निर्माण गरिनेछ। केन्द्रीय मन्त्री अनुराग ठाकुरले आउँदो ९० दिनभित्र प्रधानमन्त्री गति शक्ति योजना लागू गरिने बताएका छन्।
प्रधानमन्त्री नरेन्द्र मोदीले सोमबार नै पीएम-श्री योजनाको घोषणा गरेका थिए। यस योजनाको घोषणा गर्दै प्रधानमन्त्री मोदीले यी विद्यालयहरूलाई राष्ट्रिय शिक्षा नीतिअन्तर्गत शुरु गरिने बताए। धेरै ट्वीटमा पीएम मोदीले लेखेका छन्, ‘आज शिक्षक दिवसको अवसरमा म एउटा नयाँ प्रयासको घोषणा गर्दछु। प्रधान मन्त्री स्कूल फर राइजिङ इण्डिया (पीएम-श्री) अन्तर्गत देशभरका १४ हजार ५ सय विद्यालयहरूको स्तरोन्नति गरिनेछ। नयाँ शिक्षा नीतिको मर्मअनुसार विकास गरी नमुना विद्यालय बनाइनेछ।
यी विद्यालयलाई आधुनिक शिक्षाका दृष्टिले तयार गरिनेछ। प्रधानमन्त्री नरेन्द्र मोदीले यी विद्यालयहरूलाई आधुनिक पूर्वाधारमा तयार गरिने बताएका छन्। यसमा स्मार्ट क्लासरूम, खेलकुद र अन्य कुरालाई ध्यानमा राखेर नयाँ प्रविधिको डिजाइन गरिनेछ। यसअघि जुनमा शिक्षामन्त्री धर्मेन्द्र प्रधानले यस योजनाको जानकारी दिएका थिए। शिक्षा मन्त्रालयका अनुसार यस योजना अन्तर्गत छनोट हुने १४ हजार ५ सय विद्यालय अधिकांश केन्द्र सरकारद्वारा सञ्चालित छन्। यसबाहेक कतिपय विद्यालय प्रदेश सरकारद्वारा सञ्चालित छन्।
आदर्श विद्यालयले सबै विद्यार्थीहरूको लागि सुरक्षित, उत्तेजक शैक्षिक वातावरणमा विविध शिक्षा र अनुभवहरू प्रदान गर्न राम्रो पूर्वाधार र पर्याप्त स्रोतहरूको उपलब्धता सुनिश्चित गर्ने परिकल्पना गर्दछ। यसले विद्यालयको उपस्थिति बढाउन र आधारभूत साक्षरता र संख्यात्मकता प्रवर्द्धनमा ध्यान दिनेछ। शिक्षामा पहुँचलाई सहज बनाएर विद्यालय छाड्नेलाई निरुत्साहित गरिनेछ। यी विद्यालयहरूले शिक्षासम्बन्धी राष्ट्रिय नीति (एनईपी) को कार्यान्वयनमा मद्दत गर्नेछन् र आ-आफ्नो क्षेत्रमा उत्कृष्टताका उदाहरणीय विद्यालयका रूपमा उभिने छन्।