कालचिनी: बक्सा ब्याघ्र प्रकल्प पश्चिम अधीनस्थ तथा राजभातखावाअन्तर्गत पर्ने पम्फु बस्तीमा बुधबार सुपारीको पातको प्लेट बनाउने कार्यशाला सह उत्पादन इकाईको उद्घाटन गरियोl यस बारेमा बक्सा ब्याघ्र प्रकल्प पश्चिमका डीएफडी प्रवीण कासवानले बताएका छन्। पश्चिम बङ्गाल वन विभागको सहयोगमा अनि बक्सा ब्याघ्र प्रकल्पको तत्परतामा गारो-पम्पु बस्ती संयुक्त वन व्यवस्थापन समिति (जेएफएमसी) का सदस्यहरूद्वारा यस एकाइको सञ्चालन हुने बीटीआरद्वारा बताइएको छ।

यस भन्दा अघि बक्सा ब्याघ्र प्रकल्प पश्चिम अधीनस्थ तथा हेमिल्टनगञ्ज रेञ्जअन्तर्गत दलबदल बस्तीमा यसको पहिले नै स्थापना गरिसकेको र एकाइको टोलीले प्रारम्भिक तालिम दिईसकेको बताएका छन्। राजाभातखावा एकाइ दोस्रो एकाइ रहेको र अर्को एकाइ हेमिल्टनगञ्ज रेञ्जअन्तर्गत दलबदल बस्तीमा विगत एक वर्षदेखि धेरै राम्रो ढंगमा संचालन भइरहेको पनि बक्सा ब्याघ्र प्रकल्प पश्चिमका डीएफडी प्रवीण कासवानले बताएका छन्। सुपारीको पातलाई यी मेसिनहरू प्रयोग गरेर विभिन्न आकारका प्लेटहरू बनाइने र जेएफएमसी सदस्यहरूले यसको बिक्री व्यवस्थापन मिलाउने छन् भने राजाभातखावा एनआईसीमा यसलाई पर्यटकहरुलाई बिक्री गर्न राखिने वन विभागले बताएको छ।
भविष्यमा यस्ता धेरै मेसिनहरू उपलब्ध गराएर त्यस्ता धेरै एकाइहरू स्थापना गर्ने वन विभागको भनाइ छ। यसप्रकारको एकाइले जेएफएमसी सदस्यहरूको लागि आर्थिक पुनर्स्थापना र जीविकोपार्जन सुधार गतिविधिहरूको भागको मुख्य भुमिका निर्वाह गर्ने बताइएको छ। वन विभागका यस्ता सहयोगी गतिविधिहरूले वनबस्तीमा स्वनिर्भरता ल्याउनका साथै वनबस्ती क्षेत्रका मानिसहरूको दिगो जीविकोपार्जनमा मद्दत पुऱ्याउने काम गर्ने वन विभागले उद्देश्य रहेको छ।