विराटनगर: कोशी प्रदेश सरकारले कडा रोग लागेका बिरामीहरूका लागि दिँदै आएको सहयोग रकम वितरण गर्ने भएको छ।
प्रदेश सरकारको आज बसेको मन्त्रिपरिषद्को बैठकले ८ करोड ६० लाख रुपैयाँ थप निकासा गर्ने निर्णय गरेको हो। प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री एवं सरकारका प्रवक्ता रेवतीरमण भण्डारीका अनुसार यो पटक सहायता रकम वितरण गरेपछि अर्को वर्षदेखि भने भिन्दै तरिकाबाट सहयोग गर्ने नीति लिइने छ।
बैठकले फरबरी ११मा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रदेशसभामा गर्ने सम्बोधनको तयारीका लागिका प्रदेशसभालाई आग्रह गर्ने निर्णय गरेको छ। प्रदेशमा आएका सचिव रामप्रसाद आचार्यलाई आन्तरिक मामला तथा कानुन मन्त्रालयमा कामकाज गर्न खटाउने र सचिव पवनकुमार तिम्सिनालाई मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा नै कामकाजमा खटाउने निर्णय भएको मन्त्री भण्डारीले जानकारी दिए।
मन्त्रिपरिषद् बैठकले धनकुटा नगरपालिका र चीनको फुझाउ सहरबीच भगिनी सम्बन्ध कायम गर्न परामर्श दिने समेत निर्णय गरेको छ। त्यस्तै, कोशी पर्यटन वर्षको लागि विनियोजित रकमको स्रोतगत बाँडफाँट गर्ने निर्णयसमेत बैठकले गरेको छ।