गेजिङ: गेजिङ जिल्लाका जिल्लापाल एवं डिस्ट्रिक्ट ट्युबरक्लोसिस फोरम अध्यक्ष तेञ्जिङ डी. डेञ्जोङपाको अध्यक्षतामा बसेको जिल्लास्तरीय क्षय रोग समितिले क्षयरोग उन्मुलनमाथि महत्वपूर्ण निर्णयहरु पारित गरेको छ। जिल्ला प्रशासनिक केन्द्रमा बसेको बैठकको उद्देश्य जिल्लामा क्षयरोग नियन्त्रणबारे समीक्षा साथै सुदृढीकरण गर्नु रहेको थियो। बैठकलाई सम्बोधन गर्दै, जिल्लापाल डेञ्जोङपाले क्षयरोग उन्मूलनमाथि जोड दिँदै यसको निम्ति सम्बन्धित विभागहरूबीच समन्वय राख्ने आग्रह गरे। उनले क्षयरोग नियन्त्रण पहलको प्रभावकारी कार्यान्वयनको लागि प्रशासनिक सहयोगको आश्वासन दिनको साथै सिक्किमलाई क्षयरोगमुक्त बनाउऩ सरोकारवालाहरूको सहभागिता महत्वपूर्ण रहने बताए। यस क्रममा डा. स्मृति राईले क्षयरोग उपचार कार्यक्रमको प्रगतिबारे जानकारी गराइन्। उनले क्षयरोगद्वारा ग्रसित रोगीहरूको स्वास्थ्यमा आएको सुधार र रोगीहरूको प्रारम्भिक पहिचानको आँकड़ामाथि प्रकास पारिन्। आशाकर्मी लगायत सामुदायिक स्वास्थ्यकर्मीहरूको आवश्यक भूमिकामाथि जोड दिँदै डा. राईले गेजिङ जिल्लाले शुरू गरेको विभिन्न पहलहरू सफल भएको दाबी गरिन्। उनको भनाइअनुसार आशाकर्मी र स्वास्थ्यकर्मीहरूको भूमिका रोग उन्मुलनको लागि महत्वपूर्ण हुन्छ। विभागले शुरू गरेको सयदिने अभियान अन्तर्गत रोग जाँच, उपचार र जागरूकता गतिविधिहरूलाई सक्रियता सदिने तयारी रहेको जानकारी गराइन्। क्षयरोगमुक्त गाउँ, पञ्चायत र जिल्ला बनाउन स्थानीय प्रशासनलाई सशक्त बनाउनु पर्ने अवगत गराइन्।