वर्षको पहिलो चियापत्ती टिपे मात्रै चियाबारी सुचारु चल्न सक्नेछ: बिमल गुरुङ
मिरिक: गोर्खा जनमुक्ति मोर्चाका अध्यक्ष बिमल गुरुङको मिरिक भ्रमण आजबाट शुरु भएको छ। भ्रमण अवधि गोजमुमो अध्यक्ष बिमल गुरुङले मिरिक महकुमा क्षेत्रका पार्टी समर्थकहरुसित चर्चा गर्ने तथा पार्टीको रणनीति विषयमा चर्चा परिचर्चा गर्ने सम्भावना रहेको छ। यस क्रममा मिरकमा पत्रकारहरुसितको अन्तर्क्रियामा बिमल गुरुङले पहाडमा चलिरहेको विभिन्न मुद्दाहरुमाथि आफ्नो विचार साझा गरे। उनले विशेष गरी हाल धेरैवटा चियाबगानमा ‘नो वर्क नो पे’ को नोटिस लगाइएको विषयमा चिन्ता व्यक्त गरेका छन्। गुरुङले चियाबारीमा यस वर्षको पहिलो चियापत्ती टिपाईमा कुनै बाधा हुनु हुँदैन भन्ने बयान दिएका छन्। वर्षको पहिलो चियापत्ती टिपे मात्रै चियाबारी सुचारु चल्न सक्ने मनसाय पनि गुरुङले पोखेका छन्। यसका साथै उनले चियाबारीमा अत्याधिक रुपमा राजनीति भइरहेको समेत उल्लेख गरे। सिक्किम बिलयबारे सोधिएको अर्को प्रश्नको जवाबमा भने गुरुङले आफू बिलयको पक्षमा नरहेको धारणा व्यक्त गरेका छन्।