कम्पनीको सेयर मूल्य उल्लेखनीय रूपमा वृद्धि
काठमाडौँ: प्रख्यात चिनियाँ ई-कमर्स कम्पनी ‘अलिबाबा ग्रुप’ले आफ्नो नयाँ एआई मोडल सार्वजनिक गरेपछि बिहीबार कम्पनीको सेयर मूल्य उल्लेखनीय रूपमा वृद्धि भएको छ। अलिबाबाले ‘क्यू डब्लू क्यू- ३२बी’ मोडल सार्वजनिक गर्नासाथ हङकङमा कम्पनीको सेयर मूल्य ८ प्रतिशतले बढेर १ सय ४०.५ हङकङ डलर प्रतिशेयर पुगेको छ। डिपसिकको उदयसँगै जागृत भएको चिनियाँ प्रविधि कम्पनीहरूको उत्साहलाई अलिबाबाको एआई मोडलले थप विस्तार गरेको छ।
अलिबाबाका अनुसार पर्फरमेन्स (कार्य सम्पादन) का हिसाबले क्यू डब्लू क्यू- ३२बी मोडल डिपसिकको आर-वान मोडलजत्तिकै शक्तिशाली छ। यो डिपसिकभन्दा कम ऊर्जा र लागतमा निर्माण भएको कम्पनीले जनाएको छ। डिपसिकजस्तै यो पनि ओपेन सोर्स प्रोजेक्ट हो अर्थात् यसको सोर्स कोर्ड सार्वजनिक गरिएको छ। अधिकांश ठूला प्रविधि कम्पनीहरूले आफ्ना सोर्स कोड सार्वजनिक गर्दैनन्।
अलिबाबाको हङकङस्थित सेयर मूल्य र न्यूयोर्कस्थित क्रस लिस्टिङ मूल्य यस वर्ष हालसम्म करिब ७० प्रतिशतले वृद्धि भएको बिजनेस इन्साइडरले जनाएको छ। अहिले कम्पनीको बजार मूल्य ३ सय १७.७ अर्ब डलर छ। गत महिना अलिबाबाले अमेरिकी कम्पनी एप्पलसँग मिलेर चीनका आइफोनहरूमा एआई सुविधा थप्न सहकार्य गरिरहेको खबर बाहिरिएपछि कम्पनीको सेयर मूल्य उकालो लागेको थियो। पछि दुबै कम्पनीले उक्त खबर सही भएको पुष्टि पनि गरे।
त्यस्तै, चिनियाँ राष्ट्रपति सी चिनफिङले देशका ठूला प्रविधि उद्यमीहरूसँग भेटघाट गरेपछि पनि अलिबाबाको सेयर मूल्यमा वृद्धि भएको थियो। सीले अलिबाबाका संस्थापक ज्याक मा, टेन्सेन्टका सीईओ पोनी मा र इलेक्ट्रिक कार निर्माता बीवाईडीका प्रमुख कार्यकारी अधिकृत वाङ छुआनफु लगायतका प्रविधि उद्यमीहरूसँग भेट गरेका थिए।
पछिल्ला वर्षहरूमा सरकारको कडा निगरानीका कारण सुस्ताएका चिनियाँ प्रविधि कम्पनीहरू पुनः जुर्मुराउन थालेका छन्। डिपसिकको आगमनले चिनियाँ प्रविधि बजारमा नयाँ आशा जागृत भएको छ। सीले प्रविधि उद्यमीसँग भेट गरेपछि सरकार यस क्षेत्रको पुनरुत्थानमा इच्छुक रहेको संकेत पनि देखिएको थियो।
अलिबाबाले आगामी तीन वर्षमा क्लाउड कम्प्युटिङ र एआई पूर्वाधारमा कम्तीमा ३ सय ८० अर्ब चिनियाँ युआन (५३ अर्ब डलर) लगानी गर्ने घोषणा गरेको छ। डिपसिकको सफलताले चीनमा क्लाउड प्रविधिमा ठूलो लगानीलाई प्रेरित गरेको छ।
गत महिना गोल्डम्यान स्याक्सका विश्लेषकहरूले डिपसिक आर-वान मोडलले चिनियाँ प्रविधि क्षेत्रको माहोल परिवर्तन गरिदिने बताएका थिए। अलिबाबाले आफ्नो एआई मोडलमा डिपसिकको भन्दा पाँच गुणा कम प्यारामिटर भएकाले निकै कम ऊर्जा खपत गरेर प्रभावकारी नतिजा दिने दाबी गरेको छ। डिपसिकमा ६ सय ७१ अर्ब प्यारामिटर रहेकोमा अलिबाबाको मोडलमा ३२ अर्ब प्यारामिटर छन्। यो प्रविधि अलिबाबाको क्वेन नामक एआई युनिटले बनाएको हो।