गान्तोक: सिक्किम डाक प्रभागले गान्तोकमा जिल्लास्तरीय डाक टिकट प्रदर्शनी, ‘कञ्चनजङ्घापेक्स-२०२५’ सफलतापूर्वक आयोजना गरेको छ। कार्यक्रमको उद्घाटन सिक्किम विश्वविद्यालयका उपकुलपति ज्योति प्रकाश तामाङ, सिक्किम तथा उत्तर बङ्गाल क्षेत्रका पोस्टमास्टर जेनरल सीएल लालफकजुआला तथा सिक्किम सरकारका भूमि सुधार तथा आपदा प्रबन्धनका अतिरिक्त निर्देशक राजीव रोकाले संयुक्त रुपमा गरेका थिए। सर टासी नामग्याल र एयरोस्पेस इञ्जिनियर स्टीफन स्मिथलाई सम्मान जनाउँदै सिक्किम रकेट मेलको ९० वर्ष विशेष कभर जारी गरिएको थियो। प्रदर्शनीमा ७९ वटा पक्ष भएका ४० वटा फ्रेम सामेल थिए, जसमा महात्मा गान्धी, महिला सशक्तिकरण, तिब्बत, दार्जीलिङ टोय ट्रेन र ब्रिटिश इण्डिया स्ट्याम्प जस्ता विषयवस्तुहरूमा डाक टिकट प्रदर्शन गरिएका थिए। टाशी नामग्याल एकाडेमी, होली क्रस स्कूल, आर्मी पब्लिक स्कूल, उत्तर बङ्गाल र सिक्किमका प्रमुख डाक टिकट सङ्ग्रहकर्ताहरूको टिकट प्रदर्शित गरिएका थिए। पत्र लेखन र डाक टिकट डिजाइन प्रतियोगिता, डाक टिकट सङ्ग्रह कार्यशाला र जादू शो जस्ता गतिविधिहरूले विद्यार्थीहरूलाई आकर्षित गरे। यस दिनको सांस्कृतिक आकर्षण सांस्कृतिक विभागद्वारा प्रस्तुत याक नृत्य र अखण्डता नृत्य थियो, जसले कार्यक्रमलाई अझ जीवन्त बनायो। दोस्रो दिनमा डाक टिकट सङ्ग्रहमाथि एक कार्यशाला र प्रश्नोत्तर प्रयियोगिता आयोजन गरियो। सिक्किमको पुतली ‘ब्लू ड्युक’ माथि एक विशेष कभर जारी गरियो, जसले राज्यको समृद्ध जैव विविधतालाई अझ उजागर गरेको थियो। यसबीच विभिन्न प्रतियोगिताका विजेताहरूलाई उनीहरूको उत्कृष्ट प्रदर्शनका लागि पुरस्कृत गरियो। सिक्किमका डाक उपअधीक्षक रवि लामाको नेतृत्वमा प्रदर्शनी सफल भएको थियो। यस कार्यक्रमले विद्यार्थी र सर्वसाधारणमा डाक टिकट सङ्ग्रहप्रति रुचि बढाउने प्रेरणा दिएको थियो।