गान्तोक: राज्यस्तरीय अन्तर्राष्ट्रिय नारी दिवस समारोह आयोजनलाई लिएर मुख्यमन्त्री प्रेमसिंह तामाङकी धर्मपत्नि श्रीमती कृष्णा कुमारी राईको विशेष उपस्थितिमा आज एउटा समन्वय सभा सम्पन्न भयो। बैठकमा सिक्किम विधानसभाकी उपाध्याक्ष राजकुमारी थापा, विधायक पामिन लेप्चा, उपमेयर छिरिङ पाल्देन भोटिया, एसकेएम कानुनी प्रकोष्ठकी सचिव पूजा लामिछाने, एसकेएम प्रेस एवं मिडिया प्रकोष्ठकी अध्यक्षा श्रीमती रञ्जना प्रधान लगायत अन्यहरूको उपस्थिति रहेको थियो।
बैठकमा कार्यक्रमको तयारीलाई अन्तिम रुप दिन र कार्यक्रमको सफलता सुनिश्चित गर्न विभिन्न विषयमा छलफल गरियो। बैठकलाई सम्बोधन गर्दै योजना अनि विकास विभाग अन्तर्गत सिक्किम इन्सपायरकी अतिरिक्त सचिव एवं कार्यक्रम निर्देशक श्रीमती रोहिणी प्रधानले कार्यक्रमको तयारीबारे विस्तृत जानकारी गराइन्। उल्लेख्य छ आगामी ७ र ८ मार्चको दिन रानीपुल नजिक सरम्सा गार्डनमा दुई दिवसीय अन्तर्राष्ट्रिय महिला दिवस भव्यताका साथमा पालन गरिने भएको छ। कार्यक्रममा मुख्यमन्त्री प्रेमसिंह तामाङको विशेष उपस्थिति रहने बताइएको छ।