गान्तोक: एसडीएफ पार्टी अध्यक्ष पवन चामलिङले हिजो पार्टीको स्थापना दिवसमा दिएको वक्तव्यमाथि आलोचना गर्दै सत्तारुढ़ एसकेएम पार्टी प्रवक्ता सीपी शर्माले यसलाई अत्यन्त फ्यातुलो, असान्दर्भिक एवं मनगडन्ते बताएका छन्। सत्ताबाट बाहिरिएपछि आफ्ना साथीहरूलेसम्मले भटाभट पार्टी छोड्दै गएपछि पवन चामलिङको राजनीति समाप्त भएको शर्माले बताए। सिक्किम क्रान्तिकारी मोर्चा पार्टीको लोकप्रियता बढ्दै जाँदा पवन चामलिङको वक्तव्यमा आतेस आएको भन्दै शर्माले राजनीतिबाट पराजित भएपछि सिक्किमलाई बिरामी देख्न थालेको उल्लेख गरे। आफू सत्तामा रहुञ्जेल नरबहादुर भण्डारीको छायाँसम्म खेदो गर्ने चामलिङले आज उनै भण्डारीको प्रशंसा गर्नु भनेको स्यालले मुखको रगत पुछेर कुखुरालाई “म तिम्रो साख्खै मीत हूँ नी” भने जत्तिकै हो भनी प्रवक्ता शर्माले व्यंग्य कसेका छन्। नेपाली भाषाले मान्यता पाएपछि भाषा संग्रामी नरबहादुर भण्डारीलाई एउटा फूलको थुँगोसम्म नदिने पवन चामलिङले आज आफू हारेपछि स्मरण गर्नु लाजमर्दो कुरा हो भन्दै उनको बोक्रे प्रवृत्ति उजागर भएको बताए। एसकेएम प्रवक्ता शर्माले भनेअनुसार सिक्किम दार्जीलिङ एकीकरण सम्भव छ भन्ने बयान दिने चामलिङको बयानले उनी एकीकरणको पक्षमा रहेको पुष्टि भएको छ। भारत सरकारले चाह्यो भने संविधानको धारा 3 लाई प्रयोग गरेर एकै दिनमा सिक्किम दार्जीलिङ बिलय गर्न सक्छ भन्नु सिक्किमे जनता बिरोधी रहेको दाबी गरेको छ। मुख्यमन्त्री पीएस गोले साथै केन्द्रिय गृहमन्त्री स्वयंले असम्भव बताइसकेको मुद्दालाई चामलिङले किन सम्भव भन्दैछ त्यसबाट जनता सावधान हुनुपर्ने एसकेएमको भनाइ छ। एसकेएमले पवन चामलिङको सपना कहिल्यै पूरा नहुने ठहर गर्दै यस्तो दिवासपना देख्नबाट बाहिर आउने सुझाउ दिएको छ। नहुने कुरालाई उब्जाएर जनतामा भ्रम फैलाउने नाटकीय प्रवृत्ति र सोंचबाट माथि उठ्ने सल्लाह दिँदै अबका जनता १९९४ का जनता नभएर सचेत र शिक्षित रहेको जिकिर गरेको छ। यस्ता उडन्ते कुरामा राजनीति गरेर जनतामा भ्रम नफैलाउने चेताउनी पनि प्रवक्ता शर्माले प्रेस बयानमा दिएका छन्।