लाहौर: न्यूजील्याण्डले दक्षिण अफ्रिकालाई ५० रनले पराजित गरी आईसीसी च्याम्पियन्स ट्रफीको फाइनलमा स्थान बनायो। न्यूजील्याण्डले अब आइतवार दुबईमा खेलिने फाइनलमा भारतको चुनौती स्वीकार्नेछ। यहाँको गद्दाफी स्टेडियममा बुधवार खेलिएको दोस्रो सेमिफाइनल म्याचमा टस जितेर पहिला ब्याटिंग गर्दै न्यूजील्याण्डले केन विलियम्सन र रचिन रविन्द्रको शतकको सहायताले ५० ओभरमा ६ विकेट गुमाएर ३६२ रन बनायो। न्यूजील्याण्डको तर्फबाट रचिनले सर्वाधिक १०८ रन बनाए। उनले १०१ बल खेलेर १३ वटा चौका र एउटा छक्का लगाए। यसरी विलियम्सनले ९४ बलमा १० वटा चौका र २ वटा छक्काको साथ १०२ रन बनाए। यी दुईबाहेक डेरिल मिचेल र ग्लेन फिलिप्स (अविजित)-ले ४९-४९ रन बनाए। दक्षिण अफ्रिकी बलरहरूमा लुंगी एनगिडीले ३ र कगिसो रबाडाले २ विकेट हासिल गरे। त्यसपछि डेविड मिलरले अविजित शतकको साथ अन्तसम्म लड़ाइँ गरे पनि दक्षिण अफ्रिकाले ५० ओभरमा ९ विकेट गुमाएर ३१२ रन मात्र बनाउन सक्यो। न्यूजील्याण्डको स्पिनर आक्रमण समक्ष शुरुदेखि दबाउमा पर्ने दक्षिण अफ्रिकाको तर्फबाट मिलर बाहेक रास्सी वेन डर डुस्सेन र कप्तान टेम्बा बावुमाले अर्द्धशतक बनाए। डुस्सेनले ४ वटा चौका र २ वटा छक्काको साथ ६६ बल खेलेर सर्वाधिक ६९ रन बनाए। यसरी नै बावुमाले ७१ बलमा ५६ रन बनाए। उनले ४ वटा चौका र एउटा छक्का लगाए। आईसीसी टुर्नामेण्टहरूमा जम्मा पाँचौं अनि जारी टुर्नामेण्टमा आफ्नो दोस्रो शतक बनाउने रचिन रविन्द्रले प्लेयर अव् द म्याच-को पुरस्कार जिते।