क्यानाडा र मेक्सिकोको सामानमा २५ र चिनियाँ सामानमा २० प्रतिशत भन्सार वृद्धि

IMG-20250305-WA0136

नयाँ दिल्ली : अमेरिकाले युक्रेनलाई गर्दैै आएको सहयोग स्थगित गरेको छ। रूस र युक्रेनबीच जारी युद्धमा युक्रेनलाई सहयोग गर्दै आएको अमेरिकाले हात झिकेको हो। युक्रेनको महत्वपूर्ण सहयोगी अमेरिकाले सहयोग निलम्बन गरिएको बताएको छ। यसले युक्रेनलाई आगामी दिनमा असहज हुने देखिएको छ।
गत शुक्रबार ह्वाइटहाउस ओभल अफिसमा भएको अमेरिकी राष्ट्रपति डोनाल्ड जे ट्रम्प र युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्की बीचको वार्ता अनपेक्षित, अनिनिर्णीत, असहज र तिक्ततापूर्ण भएको थियो। चरणबद्ध छलफल पछि सम्झौता गर्न तयार भई युक्रेनी राष्ट्रपति जेलेन्स्की अमेरिका भ्रमणमा आएको सार्वजनिक भए पनि दुई राष्ट्रपति बीचको वार्तामा भनाभन भई युक्रेनी राष्ट्रपतिले सहमति नगरी अमेरिका छाडेका थिए। 
जुन घटनालाई लिएर विश्वका नेताहरू नै विभाजित भएका छन्। विश्व शक्ति राष्ट्रहरूले समेत दुई धुव्रमा विभाजित हँुदै धारणाहरू दिइरहेका छन्।  अमेरिका भित्र पनि राष्ट्रपति ट्रम्प र युक्रेनी राष्ट्रपति जेलेन्स्कीबीचको वार्तामा उत्पन्न परिस्थितिबारे फरक–फरक कोणबाट टिकाटिप्पणीहरू भइरहेका छन्। विश्वलाई नै कूटनीतिक मर्यादा सिकाउने अमेरिकाका लागि त्यो घटनाले लज्जित बनाएको कतिपयबाट धारणा आइरहेको छ भने कतिपयले अमेरिकामै आएर अमेरिकालाई नै राष्ट्रपति जेलेन्स्कीले अनादार गरेको धारणा राखेका छन्। 
यो घटनापछि विगतमा राष्ट्रपति जेलेन्स्की र युक्रेनलाई अमेरिकाले सहयोग गर्नुपर्ने धारणा राख्ने रिपब्लिकन पार्टीका नेता, सिनेटर र कंग्रेस सदस्यहरूले समेत अहिले धारणा परिवर्तन गर्दै अमेरिकासँग सहमति र सम्झौता गर्दै रूससँगको युद्ध अन्त्यका लागि पहल गर्नुपर्नेमा त्यसो नगरी युद्ध लम्ब्याउने खेलमा जेलेन्स्की लागेको आरोप लगाएका छन्। 
सञ्चारमाध्यमहरूको उपस्थिति रहेको बहुप्रतिक्षित वार्तामा अमेरिकी राष्ट्रपति ट्रम्प र उपराष्ट्रपति जेडी भान्ससँगको वार्ताका क्रममा युक्रेनी राष्ट्रपति जेलेन्स्कीले अमेरिकाबाट सुरक्षा ग्यारेन्टीको माग गर्दै पुनः रूसले आक्रमण नगर्ने सुनिश्चितता चाहेका थिए। अमेरिकाले युक्रेनको खनिज पदार्थमा अमेरिकी पहुँचको मागसहित उक्त खनिज पदार्थको उपयोग युक्रेनको विकासका लागि उपयोग गरिने र अमेरिकी उपस्थिति नै सुरक्षाको ग्यारेन्टी भएको धारणा राख्दै आएको छ।
राष्ट्रपति निर्वाचनको बेलादेखि नै ट्रम्पले रूस र युक्रेन युद्ध अन्त्यका लागि आफूले पहल गर्ने र त्यो आफूबाट मात्र संभव रहेको बताउँदै आएका थिए। राष्ट्रपति ट्रम्पले त्यसका लागि पहलसमेत थाल्दै रूसका राष्ट्रपति पुटिनसँग वार्ता गरेका थिए। लगत्तै उनले युक्रेनमाथि युद्धविरामका लागि दबाब दिँदै आएका छन्। शान्ति वार्ताका लागि ठोस पहलका लागि अघि बढ्न जेलेन्स्कीलाई दबाब बढाउँदै राष्ट्रपति ट्रम्पले युद्ध अन्त्य गर्नका लागि अघि बढ्नुको विकल्प युक्रेनसँग नभएको र त्यसो नगरेको खण्डमा अमेरिकाले सहयोग रोक्ने चेतावनी दिँदै आएका थिए।
वार्ता र दबाब दिँदै आएका राष्ट्रपति ट्रम्पले जेलेन्स्कीसँगको पछिल्लो वार्ताबाट उत्पन्न परिस्थितिसँगै युक्रेनलाई सहायता स्थगित गरेका हुन्। त्यसो त अमेरिकी राष्ट्रपतिसँगको वार्ता लगत्तै जेलेन्स्कीले युके र युरोपियन राष्ट्रहरूसँग सहयोगका लागि आग्रह गर्दै त्यहाँका सरकार प्रमुखहरूसँग वार्ता गरेका थिए। युके, जर्मनी, फ्रान्सलगायत  युरोपियन देशहरूले पनि युक्रेनलाई सहयोग गर्ने वचनबद्धता सँगै सहायता रकम घोषणा र सहायता रकम बढाउने प्रतिबद्धता जनाएका थिए।
यसले युक्रेन मामिलामा अमेरिका र युरोपियन देशहरूबीच टकरावको स्थिति सिर्जना गरेको छ। ५७ देश सम्मिलित रामस्टेन देखि नेटोसम्बद्ध देशहरू चिढिएका छन्। उनीहरूले अमेरिकाले सहयोग रोकेर युक्रेनलाई रूससँग आत्मसमर्पण गराउन चाहेको बताएका छन्। यसैबीच, युरोपियन युनियनले बिहीबार आपतकालीन बैठक डाकेको छ।  
अमेरिकाले घोषणा गरेको सहायता स्थगनले पाइपलाइनमा रहेका सहयोगहरू पनि रोकिएका छन्। जसमा पोल्यान्डमा पुगेको हतियार सहयोगसमेत रहेको छ। अमेरिकाले राष्ट्रपति ड्रडाउन अथारिटी(पीडीए), विश्व बैंक ट्रस्ट कोषमार्फत, अमेरिकन अन्तर्राष्ट्रिय विकास सहयोग कार्यक्रममार्फत युक्रेनलाई सहयोग गर्दै आएको छ। विशेषतः पीडिएमार्फत हातहतियार तथा सैन्य सहायता गर्दै आएको छ। 
अमेरिकाले युक्रेनलाई गरेका कतिपय सहयोग शिक्षक र चिकित्सकलाई तलब खुवाउन प्रयोग हुँदै आएको छ। अमेरिकी कंग्रेसको स्वीकृति बिना नै अमेरिकाको भण्डारणमा रहेको हातहतियार राष्ट्रपतिले सहयोग स्वरूप दिन सकिने व्यवस्था सहितको कार्यक्रम पीडीए कार्यक्रममार्फत पूर्वराष्ट्रपति जोसेफ आर बाइडेनले करिब ३१ दशमलव ७ विलियन बराबरको हतियार सहायताको प्रतिज्ञा गरेका थिए। जसमा २० विलियनभन्दा बढीको सहायता पठाइसकिएको छ। 
बाइडेनले आफूले सत्ता छोड्नुअघि डिसेम्बर ३० मा थप १ दशमलव २५ विलियनको हतियार युक्रेनलाई सहयोग गर्ने घोषणा गरेका थिए, सोही घोषणाअनुसार अमेरिकाले दुई हप्ताको फरकमा हतियारहरू युक्रेनका लागि पठाउँदै आएको छ। जसमा एकतिहाइ पठाइसकिएको छ भने ट्रम्पको घोषणाले दुईतिहाइ रोकिएको छ।
सुरुवातदेखि नै युक्रेनलाई सहयोग दिने काम बन्द गर्नुपर्ने पक्षमा रहेका ट्रम्पले आफू राष्ट्रपति भएपछि सहयोग अनुदान सहयोग गरेका छैनन्। उनले विगतमै गरिएका सहमति अनुरूपको सहयोग पठाउँदै आएका थिए। तर, सोही सहयोग पनि रोकेका छन्। उपराष्ट्रपति जेडी भान्स, विदेशमन्त्री मार्को रुबियो, राष्ट्रिय गुप्तचर निर्देशन तुल्सी गोवार्ड र ट्रम्पका विशेष दूत स्टिब विटकोफसँगको छलफलपछि राष्ट्रपति ट्रम्प सहयोग रोक्ने निर्णयमा पुगेको बताइन्छ।
यसैबीच, अर्कोतर्फ अमेरिकाले अन्तरदेशीय व्यापारिक कार्यमा समेत प्रभाव पर्ने गरी कदमहरू अघि बढाएको छ। उसले क्यानडा, चीन, मेक्सिकोसँगको भन्सार दर बढाएको छ। क्यानडा र मेक्सिकोबाट अमेरिका भित्रने वस्तुमा २५ प्रतिशत र चीनबाट आउने वस्तुमा २० प्रतिशत भन्सार दर बढाएको हो। यसले यी देशसँग अमेरिकाको व्यापारिक द्वन्द्वसमेत बढाएको छ। चीनले यसको प्रतिकार गर्ने जनाएको छ। क्यानडाले अमेरिकालाई सचेत गराएको छ। क्यानडामा अमेरिका विरुद्धको आवाज बढ्दै गएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement