गान्तोक: सिक्किमका पूर्व मुख्यमन्त्री तथा एसडीएफ पार्टीका अध्यक्ष पवन चामलिङले केन्द्र सरकारले चाह्यो भने एकै दिनमा सिक्किम र दार्जिलिङ एकीकरण हुनेछ भनी बताएका छन्।
एसडीएफ पार्टीको ३३औं स्थापना दिवस कार्यक्रममा बोल्दै चामलिङले यस्तो बयान दिएका हुन्।
राजधानीको इन्दिरा बाइपासस्थित एसडीएफ मुख्यालयमा आज आयोजित स्थापना दिवस समारोहमा बोल्दै चामलिङले अहिले सिक्किम र दार्जिलिङ एकीकरणको मुद्दा निकै चर्चाको विषय बनेको बताए। उनले देशको संविधान अन्तर्गत भारत सरकारले चाह्यो भने कुनै पनि समय सिक्किमलाई दार्जिलिङमा गाभ्न सक्छ भनी बताए।
उनले एकै दिनमा एकीकरण सम्भव रहेको दाबी गर्दै यस्तो स्थिति उत्पन्न भएको खण्डमा सिक्किमको निम्ति बोल्ने एसडीएफ बाहेक अरू कुनै पार्टी नरहेको ठोकुवा गरे। उनले १९७५ मा सिक्किम भारतमा विलय भएका दृश्यहरू आलै छन् भन्दै एसडीएफ पार्टी सिक्किमको अस्तित्व एक राज्यको रूपमा बचाइराख्न चाहन्छ भने।
यसै क्रममा एसडीएफ अध्यक्ष चामलिङले पश्चिम बंगालकी मुख्यमन्त्री ममता ब्यानर्जीसॅंग भएको भेटको उल्लेख गरे। उनले मुख्यमन्त्री ममता ब्यानर्जीसॅंग सिक्किमलाई बेच्न होइन सिक्किमलाई बचाउन भेट गरेको ठोकुवा गरे। उनले मुख्यमन्त्री ब्यानर्जीको प्रशंसा गर्दै उनी देशकी एक दह्रिलो नेतृ रहेको बताए। उनले मुख्यमन्त्री ब्यानर्जी सिक्किमको शुभचिन्तक रहेको र सिक्किमलाई सघाउने आश्वासन दिएको जानकारी गराए।
यस अघि एसडीएफ अध्यक्षले सामसन तामाङ प्रकरणको कुरा गर्दै एक आरोपी व्यक्तिलाई मिडिया समक्ष बोल्न दिएर पुलिसले ठूलो गल्ती गरेको आरोप लगाए। यसको निम्ति सिक्किम पुलिस जवाफदेही रहेको उनले बताए। यसैगरी, मुख्यमन्त्री प्रेमसिंह तामाङले सामसन तामाङ प्रकरणमा थप ३/४ जनाको नाम खुलासा हुनेछ भनी दिएको बयानले यस प्रकरणको पछाडि उनी स्वयं संलग्न छन् भन्ने पुष्टि गरिदिएको पनि उनले दाबी गरे।
उनले सामसन तामाङसॅंग अहिले सोधपुछ चलिरहेको छ भने मुख्यमन्त्रीलाई यसमा अझ मानिसहरू संलग्न छन् भन्ने कसरी थाहा भयो भन्दै प्रश्न गरे। उनले मुख्यमन्त्रीको यस्तो बयान विरुद्ध न्यायिक जॉंच हुनुपर्ने मनतव्य राखे। यसैगरी, उनले एसडीएफ पार्टीको कानुन प्रकोष्ठलाई पनि मुख्यमन्त्रीको उक्त बयान विरुद्ध कारबाहीको निम्ति पहल गर्न ध्यान आकर्षित गराए।
उनले आरोपी तामाङको मुख्यमन्त्री लगायत ठूला व्यक्तिहरूसॅंग नजिकको सम्बन्ध रहेको कुरा खुलिसकेको छ भन्दै यस प्रकरणको सीबीआईद्वारा जॉंचको माग गरे। आफ्नो सम्बोधनको क्रममा एसडीएफ अध्यक्ष चामलिङले मुख्यमन्त्री तामाङमाथि जनतालाई ढॉंटेर सत्तामा आएको आरोप पनि लगाए। एसकेएम सरकारले पञ्चायत चुनाउलाई पहिले पार्टीविहीन गराइसकेपछि अब फेरि पार्टी आधारित गर्ने निर्णय लिएर एसडीएफ पार्टी सही थिएछ भन्ने पुष्टि गरिदिएको उनले बताए।
यसैगरी, उनले २०२६ को सीमाङ्कन अवधि लिम्बू र तामाङले सीट आरक्षण पाउने सम्भावना रहेको बताउॅंदै सीट आरक्षण हुन नसकेको खण्डमा जनजातिको मान्यतासमेत जोखिममा पर्न सक्ने आशंका व्यक्त गरे। उनले आयकर छुटको रूपमा प्राप्त अधिकारको प्रयोग जिम्मेवरीपूर्वक गरिनुपर्छ भने। तर, वर्तमान सरकारमा आयकर छुट धरापमा परेको छ भन्दै आयकर मुद्दाले पहिले सरकार नै खाएको थियो भने अब सिक्किमलाई नै खाने स्थिति रहेको उनले दाबी गरे।