सिटिजन एक्शन पार्टीब्दारा संगठन बिस्तारमा जोड़

IMG-20250304-WA0229

गान्तोक: सिटिजन एक्सन पार्टी सिक्किमको एक विशेष समन्वय सभा पाक्योङ जिल्लाको रम्फू जोनल कार्यालयमा सम्पन्न भयो। पार्टी अध्यक्ष गणेश राईको अध्यक्षतामा बसेको उक्त सभामा पार्टीका उपाध्यक्ष, महासचिव, सचिव, प्रवक्ता,विभिन्न काउन्सिलका प्रभारी तथा केन्द्रीय कार्यकारिणी सदस्य, समष्टि अध्यक्ष लगायतका नेताहरूको विशेष र सक्रिय उपस्थिति रह्यो।
सभाको प्रारम्भ पार्टी, विद्यार्थी काउन्सिल अध्यक्ष कौशल लोहागणको स्वागत मन्तव्यबाट भयो। त्यसपछि, पार्टीका राजनीतिक मामिला उपाध्यक्ष भूषण अधिकारीले सभाको उद्देश्यबारे प्रकाश पार्दै यसको महत्त्व उजागर गरे।
सभालाई सम्बोधन गर्दै पार्टी अध्यक्ष गणेश राईले संगठन विस्तारलाई सशक्त बनाउने दिशामा सबै सदस्यहरूको सक्रिय योगदानको आवश्यकता रहेको बताए। उनले वर्तमान परिस्थितिलाई मध्यनजर गर्दै पार्टी अनुशासन, प्रतिबद्धता र संघर्षलाई प्राथमिकतामा राख्नुपर्नेमा जोड दिए। “हाम्रो विचारधाराविपरीतका शक्तिहरूसँग लड्न हामी अझै बलियो हुनुपर्छ। समग्र सिक्किमका जनताको भविष्यलाई सुनिश्चित गर्न निरन्तर संघर्ष आवश्यक छ,” उनले भने।
अध्यक्ष श्री राईले थप गर्दै भने, “हामी राज्यको प्रमुख विपक्षी पार्टीको रूपमा निरन्तर संघर्षरत छौं। अबको यात्रामा इमानदारी, समर्पण, त्याग र संगठन विस्तारको अभावमा सफलता सम्भव छैन। त्यसैले, हामी गाउँ-गाउँ पुग्नुपर्छ, जनताको समस्याहरू बुझ्नुपर्छ र निरन्तर संवादमा रहनुपर्छ।”
सभाको शून्य समयमा उपस्थित नेताहरूले आ-आफ्ना विचार प्रस्तुत गर्दै संगठन सुदृढीकरणका लागि योजनाबद्ध ढंगले अघि बढ्नुपर्ने निष्कर्ष निकाले। सभाको क्रममा विभिन्न नेताहरुलाई पार्टीका महत्त्वपूर्ण जिम्मेवारीसम्बन्धी नयाँ कार्यालय आदेश समेत प्रदान गरेको छ।
सिटिजन एक्सन पार्टी सिक्किमले आगामी दिनहरूमा संगठन विस्तार, जनसंपर्क अभिवृद्धि, तथा सरकारको जनविरोधी नीतिहरूको विरोधलाई अझ सशक्त बनाउने निर्णय गरेको छ। पार्टी सम्पूर्ण सिक्किमबासीलाई सच्चा लोकतन्त्रको रक्षा तथा समानताको पक्षमा एकजुट हुन आह्वान गर्दछ।
सो सभालाई दीपेन्द्र राईले संचालन गरेको जानकारी प्रबक्ता महेश राईले दिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement