झापा: चलचित्र ‘राजागंज’को ट्रेलर सार्वजनिक भएको छ। ट्रेलरमा अपहरणमा परेका बालक र छुटाउन गरिएको संघर्ष छ।
अपहरणमा परेका सभासद र विद्यालयकी प्रधानध्यापकका छोरालाई छुटाउन प्रहरीले गरेको अप्रेसनलाई ट्रेलरमा देखिन्छ।
आन्दोलन चलिरहेका बेला त्यसबाट सचेत हुँदै प्रहरीले दुई बालकलाई खोज्न तयार गरेको रणनीति ट्रेलरमा समावेश छ।
ट्रेलरमा सिनेमाका मुख्य कलाकार अटाएका छन्। प्रहरी निरीक्षकको भूमिकामा अभिनेत्री आशा मगराती र एसपीको भूमिकामा अभिनेता दयाहाङलाई देख्न सकिन्छ। जहाँ उनीहरूबीचको टसल पनि ट्रेलरमा देखिन्छ।
मार्च १४बाट प्रदर्शनमा आउने चलचित्रलाई दीपक रौनियार निर्देशन गरेका छन्।
चलचित्रको कथा २०७२ सालमा संविधान जारी भएपछि विरोधमा भएको मधेस आन्दोलनको वरिपरि रहेर भनिएको छ।
निर्देशक रौनियारले ‘राजागंज’ आफ्नो करिअरकै ठूलो सिनेमा रहेको बताए। ट्रेलर सार्वजनिक गर्दै उनले यसअघि आफूले यति ठूलो ‘स्केल’मा चलचित्र नबनाएको बताए।
एक हजारभन्दा बढी मानिस संलग्न भएर चलचित्र बनाएको भन्दै उनले अन्तर्राष्ट्रिय महोत्सवहरूमा प्रशंसा पाएकाले नेपाली दर्शकलाई पनि मनपर्ने विश्वास व्यक्त गरे।
चलचित्रमा आशा र दयाहाङसँगै विजय बराल, ऋचा शर्मा, पशुपति राई, पूर्वमिस नेपाल निकिता चाण्डक, गौमाया गुरुङलगायत कलाकारको अभिनय छ।