गान्तोक: नशामुक्त एवं आत्महत्यामुक्त सिक्किम बनाउने उद्धेश्य लिएर स्थापना भएको सारथी १.० ले शिक्षक साथै विद्यार्थीहरूलाई लिएर पाकिम जिल्लाको विभिन्न स्थानमा प्रशिक्षण कार्यक्रम आयोजना गर्दै आइरहेको थियो। यस क्रममा आज रम्फूस्थित नगर पञ्चायत भवनको प्रेक्षागृहमा पाकिम जिल्लाअन्तर्गत सञ्चालित विभिन्न विद्यालयका विद्यार्थीहरूलाई लिएर प्रशिक्षण कार्यक्रम आयोजना गरियो। सारथी संगठनका परियोजना निर्देशक विशाल शर्माले संगठनको उद्देश्य र स्थापनाकालदेखि अहिलेसम्म गरिएको विभिन्न प्रकारका गतिविधिबारे जानकारी गराए। पाकिम जिल्लापछि सोरेङ जिल्लामा पनि संगठनले यो अभियान शीघ्र शुरू गर्ने उनको भनाइ रहेको छ। मुख्यमन्त्री प्रेमसिंह तामाङको नशामुक्त सिक्किमको परिकल्पनालाई साकार पार्न सबै शिक्षक शिक्षिकाहरूले दिलो ज्यान दिएर कार्य गर्ने आह्वान गर्दै अभियानमा सबैको सहभागितामाथि बल दिए। सिक्किम राज्य एक दिन अवश्य पनि नशामुक्त बनेर सुनौलो समृद्ध अनि सक्षम बन्ने विश्वास व्यक्त गरे। समय समयमा प्रकाशमा आइरहेको आत्महत्याको घटनाहरूमाथि दुःख प्रकट गर्दै यसको रोकथामको निम्ति मानसिक स्वास्थबारे सबैलाई जागरुक गराउन जिम्मेवारी उठाउनुपर्ने आग्रह गरे। उनले थप जानकारी गराएअनुसार राज्यको प्राय विद्यालयहरूमा सारथी संगठन स्थापना गरेको र विद्यार्थीहरूले पनि सकारात्मकरूपमा काम गरिरहेको बताए। उल्लेखनीय छ, राज्य सरकारले राज्यका युवावर्गलाई मार्गदर्शन गर्ने उद्देश्यले सारथी संगठनको स्थापना भएको हो। यस संगठनले राज्यका प्रत्येक विद्यालयमा विद्यार्थीहरूलाई सचेत गराउने कार्यक्रम सञ्चालन गर्दै आइरहेको छ। यस क्रममा स्रोतवक्ता प्रमिला शर्माले विद्यार्थीहरूलाई जिम्मेवारीबारे विस्तृतरूपमा अवगत गराइन्। उनले विद्यार्थीहरूलाई नकारात्मक कुराबाट टाडा बस्ने आग्रह गरिन्। नशालु पदार्थ, आत्महत्या लगायत अन्य नकारात्मक कुराले मानिसको स्वास्थ्य साथै मानसिकरूपमा पार्ने असरबाट टाडा रहेर सकारात्मक कार्यतर्फ सक्रिय हुने आग्रह गरिन्। उनले विद्यार्थीहरूलाई नशामुक्त र आत्महत्यामुक्त सिक्किम बनाउनको निम्ति सबैले पहल गर्नुपर्ने आग्रह पनि गरे।