पाकिम: सिक्किम राज्य सहकारी संघ (सिकोन) को ६२औं बोर्ड बैठक आज आसामलिंग्जेमा सम्पन्न भयो। बैठकलाई सम्बोधन गर्दै सिकोन अध्यक्ष डा. मंगलजीत राईले नयाँ व्यापार मोड्युलहरूमार्फत संस्थाले हासिल गर्न तयारी गरेका एजेन्डाहरूबारे बताए। उनले अन्तर्राष्ट्रिय सहकारी उत्सवको लागि कार्य योजनाहरूबारेमा पनि स्पष्ट गरे। जसको उद्देश्य प्रमुख सरोकारवालाहरूलाई सहकारी आन्दोलनमा सक्रिय बनाउनु रहेको बताए। यसबाहेक उनले कर्मचारीहरूको क्षमता विकासबारेमा पनि उल्लेख गरे। यसअघि सिकोनका प्रमुख कार्यकारी अधिकारी फुदोङ भोटियाले बोर्ड बैठकबारे जानकारी गराए। बैठकमा तालिम, शिक्षा, सहकारी विकास, र छात्रावास व्यवस्थापन सम्बन्धी उपलब्धिहरू र गतिविधि प्रतिवेदनहरू सहित विभिन्न एजेन्डाहरूमाथि छलफल गरियो। बैठकमा सिकोनका उपाध्यक्ष पूर्ण प्रसाद शर्मा; सहकारी विभागका अतिरिक्त रजिस्ट्रार पीटी लेप्चा र सिक्किम मिल्क युनियनका महाप्रबन्धक केसाङ डिकी बर्फुङपा,पनि उपस्थित थिए।