लङ्भ्यु चियाबारीमा भईरहेको अशान्ति र झमेलाले चिया बगान साथै श्रमिकहरुलाई पनि नोक्सान हुन्छ: मणिराज डुम्जन

IMG-20250303-WA0244

खरसाङ: खरसाङको लङ्भ्यू चियाबारीमा घरि घरि हुने झमेला अनि अशान्तिलाई लिएर सन्त मेरिज तीन ग्राम पञ्चायत प्रधान मणिराज डुम्जनले चिन्ता व्यक्त गरेका छन्। उनले यस प्रकारको अशान्ति र झमेलाले चिया बगान साथै यहाँका श्रमिक अनि मालिकवर्ग सबैलाई नोक्सान हुने बताएका छन्। पत्रकारहरूसँग कुराकानी गर्दै डुम्जनले हाल आफ्नो मागको अडानमा एउटा श्रमिक संगठन हिल प्लान्टेशन इम्प्लोइज युनियनले वर्षको पहिलो चियापत्ती टिप्न नदिने लिएको अडानलाई सठीक नरहेको जनाउँदै वर्षको यही चियापत्तीले नै श्रमिकहरूको हक र अधिकार तय गर्ने बताए। उनी यस क्षेत्रको एक अभिभावकको रूपमा रहेकोले जहिले पनि यहाँका जनताको हितको निम्ति सोच्ने र काम गर्ने व्यक्ति रहेको बताउँदै कुनै पनि आन्दोलन, बन्द र हड्तालले समस्याको समाधान नहुने बरू समस्या अझ बढेर जाने बताए। लङ्भ्यू अनि लङ्भ्यूवासीको कसरी हित हुन्छ त्यस विषयमा सबैले सोचेर सबैले एकपल्ट सम्पूर्ण लङ्भ्यू भएर काम गर्ने आग्रह गर्दै कसैले पनि यहाँका सोझा जनतालाई दिग्भ्रमित पार्दै राजनीति नगर्ने आग्रह पनि गरे। डुम्जनले वर्तमान लङ्भ्यु समस्याको समाधान गर्न तिनले आफ्नो व्यक्तिगत तर्फबाट अनि पार्टी साथै संगठनको पक्षबाट पनि धेरै कार्यहरू गरिरहेको जनाउँदै अझ आगामी दिनमा के कस्ता कार्यहरू गर्नुपर्छ त्यस सम्बन्धमा एउटा साझा सल्लाहमार्फत ती कार्यहरू गरिने प्रतिबद्धता व्यक्त गरे।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement