खरसाङ: खरसाङको लङ्भ्यू चियाबारीको वर्तमान स्थिति अनि जोइण्ट फोरमको अडानलाई लिएर जोइण्ट फोरमको पक्षबाट हमिङ तामाङले कुनै पनि अवस्थामा बगानलाई नोक्सान बनाएर गरेको आन्दोलन सफल नहुने बताएका छन्। उनले लङ्भ्यू चियाबारीका श्रमिकहरुको हक र हितको निम्ति जोइण्ट फोरमले धेरै कार्यहरू गरिरहेको अवगत गराउँदै हालै पनि श्रमिकहरूका विभिन्न मागहरूलाई लिएर मागपत्र बुझाएको बताए। तिनले श्रमिकहरूको चार प्रतिशत बोनस र तीस प्रतिशत जमीन विषयका कुरा केवल लङ्भ्यूको मात्र नरहेको जनाउँदै यस मुद्धालाई माथिल्लो स्तरबाट नै जोइण्ट फोरमले पनि सम्बन्धित विभागमार्फत लडिरहेको जनाए। त्यसरी नै भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको श्रमिक संगठनको पक्षबाट सचिव भिमराज थिङले तिनीहरूको पक्षबाट पनि श्रमिकहरूको हक र अधिकारको मागलाई लिएर मागपत्र बुझाउने अवगत गराए। तिनले बगानको पहिलो पत्ती रोकेर कुनै लाभ नहुने बताउँदै त्यही चियापत्तीले वर्षभरि श्रमिकहरूको सहुलियत दिने कुराहरू तय गर्छ भन्दै यसलाई बुझेर मात्रै श्रमिकहरूले पनि आफ्नो निर्णय लिने आग्रह गरे। यता इण्डियन गोर्खा जनशक्ति फ्रण्डको पक्षबाट सचिन थापाले लङ्भ्यूको वर्तमान स्थितिलाई साम्य पार्न औ यहाँका श्रमिकहरूको हक र अधिकार दिलाउन मालिकपक्षले शीघ्र बैठक बोलाउनुपर्ने बताए।