सोनादा: जर्जियन एफसी कालेबुङ भूतपूर्व सैनिक वेलफेयर एसोसिएसन पचेङ शाखाको आयोजनामा निम्न सोनादाको दुबे खेल मैदानमा भईरहेको नगदराशि फुटबल टुर्नामेन्टको फाइनलमा प्रवेश गरेको छ। पहिलो सेमी फाइनल खेल जर्जियन एफसी कालेबुङ र चाँद एफसी तीनधारेमाझ सम्पन्न भएको छ। यस पहिलो सेमी फाइनल खेलमा जर्जियन एफसी कालेबुङले चाँद एफसी तीनधारेलाई २-१ को अन्तरले सजिलै जितेर फाइनलमा प्रवेश गरेको छ। यस खेलमा अतिथिको रुपमा मुण्डाकोठी हाफ स्कूलकी प्रधान अध्यापिका सुधा राई, पञ्चायत समिति सदस्य आशकुमार राई लगायत अन्यहरु उपस्थित रहेका थिए। यस पहिलो सेमी फाइनल खेलको म्यान अफ् द म्याच चाँद एफसीको प्रवीण सुब्बा चयन भएका छन्। अब अर्को दोस्रो सेमी फाइनल खेल आगामी शनिबार ८ मार्चमा हुने भएको छ। शनिबार हुने दोस्रो सेमी फाइनल खेल मिक्स अप बोइज खरसाङ र ११ गढवाल राईफल्समाझ सम्पन्न हुने भएको छ। यस फुटबल टुर्नामेन्टको विजेतालाई ट्रफीससहित डेढ लाख रुपियाँ र उप विजेतालाई ट्रफीससहित एक लाख रुपियाँ प्रदान गरिने भएको छ भनी भूतपूर्व सैनिक कल्याण वेलफेयर एसोसिएसन पचेङ शाखाको सभापति अननेरी कप्तान एलबी राईले जानकारी गराएका छन्।