ब्रसेल्स: रुसविरुद्धको युद्धमा युक्रेनलाई हतियार दिने क्रममा युरोपेली संघका देशहरुको हतियार खाली भएको छ। अब यी देशहरू आफ्नो सुरक्षाको लागि खतरामा छन्। युरोपेली संघ (ईयू) का एक शीर्ष कूटनीतिज्ञले सोमबार चेतावनी दिएका छन् कि नेटो संगठनका देशहरूमा हतियारको भण्डार अब समाप्त भएको छ। युरोपेली संघका सदस्य राष्ट्रहरूले युक्रेनलाई हतियार र गोलाबारुद आपूर्ति गर्न जारी राखेकाले यस्तो भएको उनले बताए। कूटनीतिज्ञले ईयु सदस्यहरूलाई सैन्य उपकरणहरूमा उनीहरूको खर्चलाई राम्रोसँग समन्वय गर्न पनि आग्रह गरे। युरोपेली देशहरू पहिले नै रुसबाट खतराको सामना गरिरहेका छन्। यस्तो अवस्थामा उनीहरुले तुरुन्तै हतियारको भण्डार बढाउनुपर्ने हुन्छ। युरोपेली संघका विदेश नीति प्रमुख जोसेप बोरेलले युरोपेली सांसदहरूसँगको बहसमा भने कि अधिकांश सदस्य राष्ट्रहरूको सैन्य स्टक, म भन्न चाहन्न, तर धेरै कम भएको छ, किनभने हामीले युक्रेनका जनतालाई धेरै दिइरहेका छौं। उनले सैन्य उपकरणको संख्या फेरि बढाउनुपर्ने र यसका लागि सबै भन्दा राम्रो उपाय मिलेर काम गर्ने बताए जुन किफायती पनि छ।
गत हप्ता चेक गणतन्त्रमा भएको बैठकमा ईयु रक्षा मन्त्रीहरूले सैन्य सामग्री र स्रोतहरू साथै युक्रेनलाई हाल आवश्यक पर्ने गोलाबारुद र हवाई रक्षा प्रणाली जस्ता हतियारहरूको थोक खरिदबारे छलफल गरे। अमेरिकाले युक्रेनलाई लगातार हतियार आपूर्ति गरिरहेको छ। नाटो देशहरूले पनि अमेरिकालाई सहयोग गर्न आफ्नो योगदान गरिरहेका छन्। अधिकांश युरोपेली देश आफ्नो सुरक्षाका लागि अमेरिकामा निर्भर छन्। यस्तो अवस्थामा उनीहरुले हतियारको भण्डार निकै सिमित राखेका छन्। यही कारणले गर्दा युक्रेनलाई हतियारको आपूर्तिका कारण आफ्नै भण्डार खाली हुन थालेको छ।