नयाँ दिल्ली: इजरायलले गाजामा सबै मानवीय सहायताको प्रवेशमा रोक लगाएको छ। प्यालेस्टिनी समूह हमाससँगको युद्धविरामको पहिलो चरण समाप्त भएकाले मानवीय सहायतामा रोक लगाएको इजरायलले जनाएको छ।
इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको कार्यालयले युद्धविराम विस्तार गर्ने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेषदूत स्टिभ विटकफले गरेको प्रस्ताव हमासले अस्वीकार गरेको जनाएको छ। ‘युद्धविराम सम्झौताको पहिलो चरणको अन्त्य भएको र हमासले जारी वार्ताका लागि विटकफको प्रस्ताव अस्वीकार गरेकाले प्रधानमन्त्री नेतान्याहुले गाजामा सबै सामान र आपूर्ति प्रवेश रोक्ने निर्णय गर्नुभएको छ,’ इजरायली प्रधानमन्त्रीको कार्यालयबाट जारी विज्ञप्तिमा भनिएको छ। विज्ञप्तिमा इजरायली बन्धकलाई रिहा नगरी इजरायलले युद्धविरामलाई अनुमति नदिने उल्लेख गरिएको छ।
हमास प्रवक्ता सामी अबु जुहारीले भने इजरायलले ‘सस्तो जालझेल’ र युद्धविराम सम्झौतामा ‘कू’ गरेको बताएका छन्। उनले इजरायललाई सहायता सामग्री आपूर्ति पुनः सुरु गर्न मध्यस्थकर्तालाई आग्रह गरेको बीबीसीले जनाएको छ। प्यालेस्टिनी समूह हमासले बाँकी बन्धकको रिहाइ तथा शव हस्तान्तरणसँगै प्यालेस्टाइनी बन्दीहरूको रिहाइ र गाजाबाट इजरायली सेना फिर्ता गर्ने सम्झौताका लागि दोस्रो चरणको वार्ता अगाडि बढाउन चाहेको छ। तर, अमेरिका, कतार र इजिप्टका मध्यस्थकर्ताहरूको ग्यारेन्टीबिना दोस्रो चरणको युद्धविराममा सहमति हुन नसक्ने हमासको भनाइ छ।
‘गाजामा जाँदै गरेको सहायता रोक्ने नेतान्याहुको निर्णयले इजरायलको कुरूप अनुहार देखाउँछ। हाम्रा जनतालाई भोकै पर्न नदिन अन्तर्राष्ट्रिय समुदायले इजरायली सरकारलाई दबाब दिनुपर्छ,’ हमास प्रवक्ताले भनेका छन्। नेतान्याहुको कार्यालयले शनिबार राति मुस्लिम रमजान र यहुदी निस्तारको अवधिमा करिब ४ सातासम्म युद्धविरामका लागि अमेरिकी प्रस्तावमा सहमति जनाएको उल्लेख गरेको थियो। तर, यस अवधिको अन्त्यमा वार्ता समाप्त भयो भने इजरायलसँग युद्धमा फर्कने अधिकार सुरक्षित रहेको कार्यालयले जनाएको थियो।