७ सेप्टेम्बरः राइजिंग स्टार स्पोर्टिंग क्लब, फेञ्चेटारको तत्त्वावधानमा आयोजन गरिने प्रतिष्ठित दिपावली कप नक्आउट फूटबल टुर्नामेण्टको बाह्रौं संस्करणको क्रीड़ासूची जारी गरियो। स्थानीय फेञ्चेटार खेल मैदानमा २४ सेप्टेम्बरदेखि शुरु हुने यस सेभेन ए साइड फूटबल टुर्नामेण्टमा जम्मा २० वटा शीर्ष टीमले हिस्सा लिनेछ। यी २० वटा टीमलाई चारवटा ग्रुपमा बाँड़िएको छ। उद्घाटन म्याचमा दार्जीलिङ पुलिस र रेड हर्स (इलाम, नेपाल)-बीच भिड़न्त हुनेछ। टुर्नामेण्टका दुईवटा सेमिफाइनल १६ र १८ अक्टोबरमा खेलिनेछ। यसरी नै फाइनल २१ अक्टोबरमा हुनेछ। टुर्नामेण्टमा
च्याम्पियन हुने टीमलाई ट्रफीको साथमा २.५० लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै रनरअप् हुने टीमलाई ट्रफीको साथमा १.५० लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ भनी आयोजक राइजिंग स्टार स्पोर्टिंग क्लबका सचिव बिनोद छेत्रीले बताएका छन्।