गान्तोक: केन्द्रीय नागरिक उड्डयन तथा सहकारिता राज्यमन्त्री मुरलीधर किसान मोहोलको उपस्थितिमा केन्द्रीय बजेट २०२५-२६ सम्बन्धी जानकारी दिइयो। आज राजधानीस्थित एक होटलमा अन्तरक्रियात्मक सत्र सम्पन्न भयो। यस अवसरमा एसकेएम पार्टीबाट पीएसी अध्यक्ष सोनाम छिरिङ भेन्चुङपा, मुख्यमन्त्रीका राजनीतिक सचिव विकास बस्नेत र मुख्यमन्त्रीका प्रेस सचिव युगेन तामाङले सहभागिता जनाएका थिए। सत्रको क्रममा एसकेएम पार्टीको तर्फबाट विधायक तथा सार्वजनिक लेखा समितिका अध्यक्ष सोनाम छिरिङ भेन्चुङपाले केन्द्रीय राज्यमन्त्रीलाई सिक्किममा स्वागत जनाउँदै यस अन्तर्कियात्मक सत्र मार्फत सिक्किमका जनतालाई जागरूकता गराइएकोमा कृतज्ञता व्यक्त गरे। उनले देशका प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वमा सिक्किमका मुख्यमन्त्री प्रेमसिंह तामाङद्वारा सिक्किम राज्यलाई विकासको थप उँचाइमा पु-याउने प्रयास भइरहेको जानकारी गराए। विधायक भेन्चुङपाले आगामी २०४७ सम्ममा विकसित भारत निर्माण गर्ने केन्द्र सरकारको प्रतिबद्धतालाई सम्बोधनमा उल्लेख गरे। एसकेएम सरकारको तर्फबाट विधायक भेन्चुङपाले केन्द्रीय बजेट २०२५-२६ को लागि समर्थन व्यक्त गर्दै सिक्किमको विकासमा लाभ पुग्ने बताए।