खरसाङ: खरसाङ ट्राफिक पुलिसको आयोजनामा खरसाङ आदर्श विद्यालयमा ट्राफिक सुरक्षा सचेतना कार्यक्रम सम्पन्न भएको छ। यस अवसरमा खरसाङ ट्राफिक पुलिसको ओसी बीरेन्द्र छेत्री, एएसआई दिपक विश्वकर्म, एलसी सन्ध्या तामाङ उपस्थित रहेका थिए भने विद्यालयको तर्फबाट प्रधान अध्यापक निमा लेप्चा लगायत शिक्षक शिक्षिकाहरु, अशिक्षणकर्मीहरु, विद्यार्थीहरु उपस्थित रहेका थिए। कार्यक्रमलाई शिक्षक डेभिस छेत्रीले सञ्चालन गरेका थिए। उक्त ट्राफिक सचेतना कार्यक्रममा खरसाङ ट्राफिक पुलिसको ओसी बीरेन्द्र छेत्रीले ट्राफिक सुरक्षा सचेतना विषयमा सचेतना गराएका थिए। उनले सेभ ड्राइभ सेफ लाइभ, रोड सेफ्टी लगायत ट्राफिक सुरक्षा उपायहरु विषयमा जानकारी गराउँदै सचेतना गराएका छन्। यस अवसरमा उनले दुई चक्के वाहन चलाउँदा हेलमेट अनिवार्य लगाउनु पर्ने, दुईजना चढेको खण्डमा दुवैले अनिवार्य रुपमा हेलमेट लगाउनु पर्ने, तीनजना चढ्नु नहुने अनि चार चक्के वाहन कुदाउँदा सिट बेल्ट अनिवार्य लगाउनु पर्ने साथै दुई चक्के र चार चक्के दुवैमा लाईसेन्स अनिवार्य हुनु पर्ने, कागज पत्रहरु सबै सही हुनु पर्ने जस्ता नियमहरु अनिवार्य रुपमा पालन गर्नु पर्ने बताएका छन्। उनले वाहनहरु जताभावी पार्किङ गर्नु नहुने, जताभावी हर्न नबजाउनु पर्ने अनि विशेष गरेर स्कूल र अस्पताल क्षेत्रमा हर्न नबजाउनु पर्ने जानकारी गराएका छन्। यसको साथै बजार क्षेत्रमा प्रशासनद्वारा तोकेको निर्दिष्ट स्थानबाहेक अन्य ठाउँमा गाडीहरु पार्किङ गर्न नपाउने नत्र कार्वाही गरिने बताएका छन्। ट्राफिक पुलिस ओसी बीरेन्द्र छेत्रीले विद्यार्थीहरुलाई आह्वान् गर्दै आफ्ना साथीहरू र गाउँ घरतिर ट्राफिक सुरक्षा विषयमा जानकारी गराईदिने आह्वान् पनि गरेका छन्। कार्यक्रममा धन्यवाद ज्ञापन आदर्श विद्यालयका प्रधान अध्यापक निमा लेप्चाले राखेका थिए। यस कार्यक्रम विषयमा पत्रकारहरुसित कुराकानी गर्दै ट्राफिक पुलिस ओसी बीरेन्द्र छेत्रीले भविष्यमा पनि ट्राफिक सचेतना कार्यक्रम विभिन्न विद्यालयहरुमा आयोजना गरिने जानकारी गराएका छन्। उनले यसबाहेक पनि अनलाइन फ्रट, ड्रग्स सचेतना, साईबर क्राइम, मानव तस्कारी, बाल विवाह विषयमा सचेतना कार्यक्रमहरु आयोजना गर्ने जानकारी गराएका छन्। उनले जनताको साथ र सहयोग पाएको खण्डमा बजार र गाउँ क्षेत्र जतै पनि सचेतना कार्यक्रम आयोजना गर्न तत्पर रहेको पनि बताएका छन्।