सिमुलबारी गोल्ड कपः सेमिफाइनलमा पुग्न सफल दार्जीलिङ पुलिस

IMG_20220906_214708.jpg

६ सेप्टेम्बरः सिमुलबारी स्पोर्टिंग क्लबको तत्त्वावधानमा आयोजित सिमुलबारी गोल्ड कप फूटबल टुर्नामेण्टको तेस्रो सीजनमा रोमाञ्चक जीतको साथ दार्जीलिङ पुलिसले सेमिफाइनलमा स्थान बनायो। सिमुलबारी खेल मैदानमा मंगलवार खेलिएको तेस्रो क्वार्टर फाइनल म्याचमा दार्जीलिङ पुलिसले नेपालको ध्रुव तारा स्पोर्टिंग क्लब (दमक)-लाई टाईब्रेकरमा ३-०-ले पराजित गऱ्यो। नियमित समयको खेलमा स्कोर २-२-को बराबरीमा रहेको थियो। नियमित समयमा दार्जीलिङ पुलिसबाट नयन प्रधानले १४औं र सिद्धान्त छेत्रीले ५४औं मिनटमा गोल गरे। यसरी नै नेपालको टीमबाट निखिल श्रेष्ठले तेस्रो अनि विक्रम राईले मध्यान्तर अघि स्टपेज टाइममा गोल गरे।

टाईब्रेकरमा तीनवटा शट् रोक्ने दार्जीलिङ पुलिसका गोलकीपर अमन राईलाई प्लेयर अव् द म्याच चयन गरियो। अब बुधवार खेलिने चौथो तथा अन्तिम क्वार्टर फाइनल म्याचमा गत विजेता दार्जीलिङ युनाइटेड एफसी र जलपाइगड़ी पुलिसबीच भिड़न्त हुनेछ। टुर्नामेण्टमा विजेता हुने टीमलाई ट्रफीको साथमा १.५ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै उपविजेता हुने टीमलाई ट्रफीको साथमा १ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। फाइनल १३ सेप्टेम्बरमा हुनेछ।

About Author

Advertisement