फुङलिङ: ताप्लेजुङको मेरिङदेन गाउँपालिका–५ स्थित दुई विद्यालयका करिब दुई सय विद्यार्थी अचानक बिरामी परेपछि दुवै विद्यालय एक हप्ताका लागि बन्द गरिएका छन्। बिहीबारदेखि आगामी बुधबारसम्म विद्यालय बन्द गरिएको हो।
त्रिभुवन माध्यमिक विद्यालयका करिब १५० विद्यार्थीमा ज्वरो, खोकी, टाउको तथा जिउ दुख्ने, नाकबाट पानी बग्ने र पेट दुख्नेजस्ता लक्षण देखिएपछि विद्यालय बन्द गर्नुपरेको प्रधानाध्यापक कमल चेम्जोङले बताए। उनका अनुसार मंगलबार केही विद्यार्थीमा ज्वरो र खोकीको लक्षण देखा परेको थियो भने बुधबार अरू विद्यार्थीमा पनि सरेको थियो। जनज्योति आधारभूत विद्यालयका विद्यार्थीमा पनि यस्तै लक्षण देखिएपछि सो विद्यालयसमेत बन्द गरिएको छ।
स्वास्थ्य परीक्षणका लागि पालिकाको स्वास्थ्य टोली शुक्रबार विद्यालय पुगेको स्वास्थ्य शाखा प्रमुख उदयकुमार यादवले बताए। त्रिभुवन माविमा परीक्षण गरिएका ७७ विद्यार्थीमा संक्रमण पुष्टि भएको छ भने जनज्योतिका ३० विद्यार्थीमा रुघा, खोकी, ज्वरो, पेट दुख्ने तथा अत्यधिक कमजोरी देखिएको छ।
जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख कुलबहादुर पौडेलको नेतृत्वको चिकित्सकसहितको टोली पनि प्रभावित क्षेत्रमा पुगेको छ। खोकी, ज्वरो देखिएका विद्यार्थीको उपचार गरिएको र शनिबार खकारको नमूना संकलन गरेर परीक्षणका लागि विराटनगर पठाइने पौडेलले बताए । पौडेलले संक्रमण भाइरल इन्फ्लुएन्जा रहेको आशंका गरे।