खरसाङ: जीटीएको सूचना अनि सांस्कृतिक विभागको पक्षबाट खरसाङ निवासी भाषा संग्रामी एवम् वरिष्ठ साहित्यकार चन्द्र शर्मालाई उनकै वासस्थानमा गएर सम्मान जनाइयो। गत २० अगस्तको दिन नेपाली अकादमी र दार्जिलिङ नगरपालिकाको आयोजनामा सम्पन्न ३१औं नेपाली भाषा मान्यता दिवसको दिन गरिएको सम्मान कार्यक्रममा चन्द्र शर्मा आफ्नो अस्वस्थताको कारणले उपस्थित हुन सकेका थिएनन्। आज खरसाङस्थित तिनकै घरमा पुगेर उनलाई सम्मान जनाइयो। यस अवसरमा सूचना अनि सांस्कृतिक विभाग भाषा साहित्यको सह निर्देशक बिमल राईको बाहुलीबाट चन्द्र शर्मालाई खदार्पणसहित संवर्द्धना पत्र प्रदान गरेर सम्मान जनाइएको छ। यस अवसरमा सूचना अनि सांस्कृतिक विभाग खरसाङको इञ्चार्ज गोबिन छेत्री र सबिना गिरी पनि उपस्थित थिए।











