वीरगन्‍ज गोल्डकप शनिबारदेखि

IMG-20250228-WA0165

वीरगन्ज: मधेश प्रदेशकै सर्वाधिक धनराशिको वीरगन्ज गोल्डकपको दोस्रो संस्करण शनिबारदेखि शुरु हुने भएको छ। भेट्रान्स सिटी क्लबको आयोजना वीरगन्जको आदर्शनगर रंगशालामा मार्च १ देखि ८सम्म आयोजना हुने गोल्डकपमा नेपाल र भारतका आठवटा टिमले प्रतिस्पर्धा गर्नेछन्। प्रतियोगिता नकआउट चरणमा खेलाइनेछ।
गोल्डकपको दोस्रो संस्करणमा संकटा फुटबल क्लब, मच्छिन्द्र फुटबल क्लब, बाग्मती युथ क्लब सर्लाही, नेपाल पुलिस क्लब, गढवाल डाइमण्ड फुटबल क्लब दिल्ली, एपीआई चर्च ब्वाइज युनाइटेड काठमाडौं, सहलेश फुटबल क्लब सिराहा र आयोजक वीरगन्ज युनाइटेड क्लबले प्रतिस्पर्धा गर्ने भेट्रान्स सिटी क्लबका उपाध्यक्ष सागर शम्शेर राणाले बताए।
गोल्डकप उपाधि विजेता टोलीलाई नगद ११ लाख ११ हजार १११ रुपैयाँ तथा उपविजेतालाई ५ लाख ५५ हजार ५५५ रुपैयाँ प्रदान गरिने आयोजकले जनाएका छन्। सर्वोकृष्ट खेलाडीलाई इलेक्ट्रिक स्कुटर प्रदान गरिने छ। प्रत्येक खेलका म्यान अफ द म्याचलाई १० हजार रुपैयाँ प्रदान गरिने छ। बेस्ट किपर र बेस्ट कोचका लागि पनि नगद राशिको व्यवस्था गरिएको आयोजकले जनाएका छन्। पर्सा र आसपासका क्षेत्रमा फुटबल खेलको गतिविधि बढाउन र खेलको प्रवर्धनका लागि गोल्डकप सञ्चालन गर्न लागिएको प्रतियोगिताका संयोजक सुवोध श्रीवास्तवले जनाएका छन्।
प्रतियोगिता सम्पन्न गर्नका लागि करिब एक करोड सात लाख रुपैयाँ खर्च अनुमान गरिएको छ। वीरगन्ज महानगरपालिका प्रतियोगिताको मुख्य प्रायोजक रहेको छ। गोल्डकप आयोजनाका लागि आदर्शनगर रंगशालामा अस्थायी प्याराफिट निर्माण गरिएको छ। नारायणी रंगशाला जीर्ण रहेकाले गोल्डकप आदर्शनगर रंगशालामा आयोजना गर्न लागिएको हो। गत वर्ष सम्पन्न भएको गोल्डकपको पहिलो संस्करण विभागीय टोली नेपाल पुलिस क्लबले विजयी भएको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement