खरसाङ: खरसाङ महकुमा अन्तर्गत तीनधारे महानदी समष्टिको सिविटार चियाबारी र सिपाहीधुरा चियाबारीमा बिहीबार यस वर्षको पहिलो चियापत्ती टिपाई शुरु भएको छ। यसको साथै तीनधारे महानदी समष्टिको नरबुङ, सिमरिङ र गिताङ्गे चियाबारीमा बुधबारदेखि नै यस वर्षको पहिलो चियापत्ती टिपाई शुरु भएको थियो। यीबाहेक तीनधारे महानदी समष्टिको अन्य चियाबारीहरुमा भने यस वर्षको पहिलो चियापत्ती टिपाईको विषयमा जानकारी प्राप्त भएको छैन। बिहीबार सिपाहीधुरा चियाबारीमा बिहान यस वर्षको पहिलो चियापत्ती टिपाईको अवसरमा बगान प्रबन्धकसित स्थानीय चियाबारी श्रमिकहरुको मांग पत्रमा सहमति भएपछि पहिलो चियापत्ती टिपाई शुरु गरिएको छ। यस अवसरमा शिवखोला ग्राम पञ्चायतको पञ्चायत प्रधान मोहनकुमार प्रधान, पञ्चायत सदस्य उपेन्द्र राई, हिल तराई डुवर्स प्लान्टेशन वर्कर्स युनियन तीनधारे महानदी समष्टिको संयोजक राजेस थापा, सिपाहीधुरा युनिटको सभापति स्मिता प्रधान, सचिव निर्मल तामाङ लगायत भागोप्रमो पार्टीको प्रतिनिधिहरु उपस्थित रहेका थिए। त्यसरी नै सिविटार चियाबारीमा पनि यस वर्षको पहिलो चियापत्ती टिपाई शुरु गरिएको छ। यस अवसरमा पञ्चायत समिति सदस्य कुसाङ लामा, पञ्चायत सदस्य राजीव तामाङ, हिल तराई डुवर्स प्लान्टेशन वर्कर्स युनियन सिविटार युनिटको सभापति पिंकी तामाङ र कोषाध्यक्ष बिनिता प्रधान उपस्थित रहेका थिए। यस अवसरमा पत्रकारहरुलाई सम्बोधन गर्दै पञ्चायत सदस्य राजीव तामाङले विस्तृत रुपमा जानकारी गराएका छन्। यी चियाबारीहरु सिविटार, सिपाहीधुरा, नरबुङ, सिमरिङ र गिताङ्गे चियाबारीहरुमा यस वर्षको पहिलो चियापत्ती टिपाई शुरु गरिएको छ।