केआईआईटी विवाद मा थप नयाँ जानकारी
काठमाडौं(देवेन्द्र किशोर ढुङगाना): भारतको ओडिशास्थित कलिङ्गा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी)की नेपाली विद्यार्थी प्रकृति लम्सालको मृत्यु र त्यसपछि उठेको विवादले अब नयाँ मोड लिएको छ।
यस विषयमा छानबिन गर्नका लागि गठित ओडिशा सरकारको उच्चस्तरीय समितिले कलेजका संस्थापक अच्युत सामन्त र अन्य अधिकारीमाथि सोधपुछ तीब्र पारेको छ। समितिले अब अनुशासन विभाग प्रमुख पीके पटनायक, निर्देशक संहिता मिश्रा, आन्तरिक समिति प्रमुख इप्सिता सत्पाथी र सहायक निर्देशक स्मरिका पाटिल लगायत चार जना अधिकारीहरूलाई बयानका लागि बोलाएको छ।
यसअघि अच्युत सामन्तसहित सात उच्च अधिकारीमाथि सोधपुछ भइसकेको छ। ओडिशाका अतिरिक्त मुख्य सचिव सत्यब्रत साहुको संयोजकत्वमा रहेको छानबिन समितिले नेपाली विद्यार्थीलाई मात्र कलेज छाड्न नोटिस किन दिइयो? यसका साथै प्रकृतिले एक महिनाअघि दिएको उजुरीमा पनि किन कारबाही भएन भन्ने विषयमा पनि अधिकारीसँग जवाफ मागिएको छ। नेपाली विद्यार्थीमाथि अपमानजनक शब्द प्रयोग गरेकोमा पनि प्रश्न उठेको छ ।
पूरै मामिला के हो?
गत आइतबार बुटवलकी २० वर्षीया विद्यार्थी प्रकृति लम्साल होस्टेलको कोठामा मृत अवस्थामा फेला परेकी थिइन्। प्रकृतिले कलेजका विद्यार्थी अद्विक श्रीवास्तवमाथि पटकपटक दुर्व्यवहार गरेको आरोप लगाए पनि कलेज प्रशासनले यो गुनासोलाई गम्भीरतापूर्वक लिएको छैन। प्रशासनले यो विषयलाई दबाउन खोजेको विद्यार्थीको भनाइ छ। प्रकृतिको मृत्युपछि आक्रोशित विद्यार्थीले छानबिनको माग गर्दै प्रदर्शन गरे पनि कलेज प्रशासनले त्यसलाई दबाउन कडा कारबाही गरेको थियो। सो क्रममा सुरक्षाकर्मी र प्रशासनका मानिसहरूले विद्यार्थीलाई कुटपिट र गालीगलौज गरेका थिए।
अहिलेसम्म गरिएको कारबाही
आन्दोलनका क्रममा हिंसामा संलग्न दुई सुरक्षाकर्मीसहित पाँच जनालाई प्रहरीले पक्राउ गरे पनि पछि धरौटीमा रिहा भएको थियो। कलेजका केही कर्मचारीलाई निलम्बन गरिएको छ भने अभद्र भाषा प्रयोग गर्ने प्राध्यापकले माफी माग्दै भिडियो सार्वजनिक गरेका छन्। घटनालाई गम्भीरतापूर्वक लिएर ओडिशा सरकारले उच्चस्तरीय छानबिन शुरु गरेको छ भने भारत सरकारले पनि यसमा चासो देखाएको छ।
नेपाल र ओडिशामा हलचल
यो घटनाले नेपाल र ओडिशा दुवैको राजनीतिक वृत्तलाई तातेको छ। यो मुद्दा नेपालको संसदमा पनि उठेको थियो भने ओडिशा विधानसभामा पनि विपक्षी दलहरूले सरकारलाई लापरवाही गरेको आरोप लगाएका थिए। यो घटनापछि आफूले कलेजमा असुरक्षित महसुस गरेको नेपाली विद्यार्थी बताउँछन्। धेरै विद्यार्थी नेपाल फर्किसकेका छन् र बाँकी रहेकाहरु थप कारबाहीको पर्खाइमा छन्।
अब के हुन्छ?
केआईआईटीका संस्थापक अच्युत सामन्तले यसअघि नै माफी मागेर विद्यार्थीलाई फर्किन आग्रह गरेका थिए तर छानबिन समितिको अडान कडा छ। नेपाली विद्यार्थीलाई मात्र किन निशाना बनाइयो भन्ने प्रश्न अझै अनुत्तरित छ? आगामी दिनमा अनुसन्धानको नतिजाले यो विवादलाई नयाँ दिशा दिन सक्छ।