न्यू दिल्ली: भारतले संयुक्त राष्ट्र मानवअधिकार परिषद्मा पाकिस्तानलाई ‘असफल देश’को रुपमा टिप्पणी गर्दै अब अन्तर्राष्ट्रिय सहयोगको भरोसामा मात्र टिकिरहेको बताएको छ।
परिषद्को ५०औं सत्रको बैठकमा भारतीय डिप्लोम्याट क्षीतिज त्यागीले पाकिस्तानी नेतृत्वमाथि सेनाका तर्फबाट हुने प्रोपोगान्डालाई फैलाउने गरेको आरोपसमेत लगाएका छन्।
त्यागीले पाकिस्तानी कानुनमन्त्री आजम नजीर तरारले जम्मू–कश्मीरमा मानवधिकार उल्लंघन भइरहेको आरोपपछि यस्तो टिप्पणी गरेका हुन्।
त्यागीले भने, ‘यो एकदमै दु:खद छ कि पाकिस्तान लगातार कश्मीर र भारतमाथि झुट फैलाइरहेको छ। त्यहाँका प्रतिनिध ओआईसीजस्तो मञ्चको मजाक बनाइरहेका छन्। पाकिस्तान ओआईसीलाई आफ्नो मुखपत्रजस्तो प्रयोग गर्दै यसको दुरुपयोग गरिरहेको छ।’
केन्द्र शासित प्रदेश जम्मू–कश्मीर र लद्दाख सधैं भारतको अभिन्न अंग रहँदै आएको र अगाडी पनि रहने त्यागीले बताएका छन्। उनले भने, ‘जम्मू–कश्मीरमा पछिल्लो केही वर्षयता अभूतपूर्व राजनीतिक, सामाजिक र आर्थिक उन्नति भइरहेको छ।’