कोलकाता: नियोटिया भागीरथी वुमन एण्ड चाइल्ड केयर सेन्टरले आफ्नो पहिलो राष्ट्रिय सम्मेलन नेओपेडिकन २०२५ आयोजना गर्यो। अम्बुजा नेओटिया हेल्थकेयर प्रा. लि. का कार्यकारी निर्देशक पार्थिव नेओटिया को नेतृत्वमा सम्पन्न यो सम्मेलनले नवजात शिशु तथा बाल चिकित्सा क्षेत्रमा नवीनतम प्रविधि र अनुसन्धानलाई प्रवर्द्धन गर्ने उद्देश्य राखेको थियो। कार्यक्रमको उद्घाटन अम्बुजा नेओटिया हेल्थकेयरका उपाध्यक्ष तथा प्रबन्ध निर्देशक प्रदीपलाल मेहताले गरे। उनले उपस्थित चिकित्सक तथा विशेषज्ञहरूलाई स्वागत गर्दै “केयारिंग अबाउट योर केयर” भन्ने नाराले अस्पतालको समर्पणलाई प्रतिबिम्बित गर्ने बताए। उनले नियोटिया भागीरथी अस्पताल ले देशभरका नवजात शिशु तथा बाल रोग विशेषज्ञहरूलाई एकजुट गराउन महत्वपूर्ण भूमिका खेलेको उल्लेख गरे। साथै, अस्पतालले आगामी दिनहरूमा बाल रोग सम्बन्धी सुपर स्पेशालिटी सेवाहरू विस्तार गर्ने योजना रहेको बताए।
कार्यक्रममा प्रमुख वक्ताका रूपमा इन्स्टिट्युट अफ चाइल्ड हेल्थ, कोलकाताका निर्देशक डा. अपूर्व घोषले सम्बोधन गरे। उनले बाल चिकित्सा क्षेत्रमा शैक्षिक विकास र प्रमाण-आधारित उपचार पद्धति को महत्वबारे प्रकाश पार्दै अनुसन्धान र नवीनतम प्रविधिहरूको प्रयोग आवश्यक रहेको बताए। नेओपेडिकन २०२५ मा भारतभरका ख्यातिप्राप्त बाल रोग विशेषज्ञ तथा नवजात शिशु विशेषज्ञहरू सहभागी भए। उपस्थित प्रमुख व्यक्तित्वहरूमा प्रसिद्ध नवजात शिशु विशेषज्ञ डा. अरुण सिंह, न्यू होराइजन्स चाइल्ड डेभलपमेन्ट सेन्टर, मुम्बईका संस्थापक तथा निर्देशक डा. समीर हसन दलवाई, एम्स भुवनेश्वरका शिशु रोग विभागका अतिरिक्त प्राध्यापक डा. अमित कुमार सतपथी, नियोटिया भागीरथी वुमन एण्ड चाइल्ड केयर सेन्टर, न्यू टाउनका बाल रोग विशेषज्ञ डा. सोमेनाथ गोराईन, तथा नियोनाटल तथा बाल गहन चिकित्सा विशेषज्ञ डा. विक्रमजित दास आदि उपस्थित थिए।
चार प्रमुख विषयमा केन्द्रित सम्मेलनका विशेष सत्रहरू सञ्चालन गरिए, जसमा विकासात्मक बाल रोग, बाल गहन चिकित्सा, बाल मृगौला रोग, तथा पेरीनाटोलोजी (गर्भावस्थामा शिशुको स्वास्थ्य) समावेश थिए। नेओपेडिकन २०२५ ले बाल चिकित्सा तथा नवजात शिशु उपचार सेवामा नवीनतम प्रविधिहरू, अनुसन्धान र उपचार पद्धतिहरूको प्रवर्द्धन गर्दै यो क्षेत्रलाई अझ सबल बनाउन महत्वपूर्ण योगदान पुर्यासउने अपेक्षा गरिएको छ।