गान्तोक: मुख्यमन्त्री प्रेमसिंह तामाङले सामसन तामाङ प्रकरण र सिक्किम-दार्जिलिङ एकीकरणको हल्ला विपक्षीहरूको उपज रहेको बताए। उनले यसलाई सिक्किमे समाज एकजुट बनेको र १२ जात गोष्ठीले जनजातिको मान्यता पाएको देख्न नचाहनेहरूको लागि ठूलो षड़यन्त्र भएको दाबी गरेका छन्।
पश्चिम सिक्किमको गेजिङस्थित क्योङ्सा खेलमैदानमा आज आयोजित अखिल सिक्किम खस छेत्री बाहुन कल्याण सङ्घको ३०औं स्थापना दिवस कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री तामाङले उक्त कुरा बताएका हुन्। कार्यक्रममा मुख्य अतिथिको आशनबाट मुख्यमन्त्रीले कसैको नाम नलिई विपक्षीहरू छुटेका १२ जातिले जनजातिको मान्यता पाएको हेर्न चाहॅंदैनन्, किनकि जनजातिको मान्यता पायो भने उनीहरूको राजनीति पनि समाप्त भएर जाने बताए।
उनले २०२४को चुनावमा नै सिक्किमे जनताले यस्ता सोच भएका व्यक्तिहरूको राजनीतिलाई समाप्त पारिदिएको बताए। उनले गत १०फरवरीका दिन दिल्लीमा आयोजित बैठकलाई लिएर विपक्षीहरूले जनतामा भ्रम फैलाउने काम गरेको आरोप लगाए। उनले उक्त बैठक जनजातिको मान्यतालाई लिएर गरिएको थियो, तर विपक्षीहरूले सिक्किम र दार्जिलिङ विलयको कुरा गर्न बैठक भइरहेको हल्ला फैलाएको बताए।
मुख्यमन्त्रीले भने, कुनै पनि स्थितिमा सिक्किम र दार्जिलिङको विलय हुॅंदैन। सिक्किमलाई भारतीय संविधानको धारा ३७१एफले सुरक्षित गरेको छ। सिक्किम र दार्जिलिङको आआफ्नै राजनीतिक इतिहास छ र आआफ्नै मागहरू छन्। तर, विपक्षीहरूले नहुने कुरालाई प्रोपागाण्डा बनाएर जनतालाई उक्साउने काम गरेको उनले आरोप लगाए। उनले १० फरवरीमा दिल्लीमा बैठक सफलतापूर्वक सम्पन्न भएपछि विपक्षीहरूको मुद्दा पनि समाप्त भएको बताए।
अर्कोतिर, सिक्किमका खस समुदाय एकजुट बनेर सङ्घको स्थापना दिवस मनाउने कुरा गरेपछि फेरि षडयन्त्रकारीहरू आत्तिएको मुख्यमन्त्रीले बताए। यसपछि, विपक्षीहरूले खस समुदायको स्थापना दिवसलाई फ्लप बनाउने सामसन तामाङको भिडियो भाइरल गरेको आरोप लगाए, जसमा खस समुदाय विरुद्ध आपत्तिजनक टिप्पणी गरिएको थियो। सिक्किमे समाजको मेरुदण्ड बहुसंख्य खस समुदाय एकजुट बन्नेछ भन्ने भयका कारण षडयन्त्रकारीहरूले सिलगढी र असम लगायत नेपालमा समेत बैठक गरेको उनले दाबी गरे।
मुख्यमन्त्रीले सिक्किमको पुलिसको अथक प्रयासपछि सामसन तामाङलाई पक्राउ गरेर २१ फरवरीका दिन सिक्किम ल्याइएको जानकारी गराए। सामसन तामाङले सिक्किम आएपछि दिएको बयानसॅंग आफूहरूलाई कुनै सरोकार नरहेको, तर आरोपी तामाङले पुलिसद्वारा गरिएको सोधपुछमा धेरैको नाम खुलासा गरेको उनले बताए। उनले सामसन तामाङको पॉंच दिने रिमाण्ड आज समाप्त भएको र अझ पॉंच दिनको पुलिस रिमाण्डमा लिने बताए। उनले प्रमाणहरू अघि आइरहेको र नोटिस पठाउने काम पनि भइरहेको जानकारी गराउॅंदै अब २१फरवरीभन्दा ठूलो विस्फोट हुनेछ भने।