जनकपुरधाम(नेपाल): मधेश प्रदेशको राजधानी जनकपुरधाममा फरबरी २९ देखि मार्च १सम्म हुने तीन दिवसीय जनकपुर अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको तयारी पूरा भएको छ।
महोत्सवको आयोजक संस्था संवाद फाउण्डेसनले बुधबार जनकपुरधाममा पत्रकार सम्मेलनको आयोजना गरी महोत्सवको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ। संवाद फाउण्डेसनका अध्यक्ष कुमार भास्करले नेपाली चलचित्र क्षेत्रको अन्तर्राष्ट्रियकरण, बजार प्रवर्धन तथा सम्भावना र अवसरको खोजीसँगै स्थानीय चलचित्र सँस्कृतिको प्रवर्धन गर्ने उद्देश्यले हुन लागेको महोत्सवको मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले एक कार्यक्रमविच उदघाटन गर्ने कार्यक्रम रहेको जानकारी दिए।
जनकपुरधामको मैथिली विकास कोषको भवनमा आयोजना हुने उक्त महोत्सवमा ११४ भन्दा बढी देशका चलचित्रकर्मीको तीन हजार पाँचसयभन्दा बढी आवेदन प्राप्त भएको बताइएको छ। जसमध्ये महोत्सवका लागि दश विधाबाट चयन भएका कुल ७८ वटा फिल्म प्रदर्शन गरिने कार्यक्रम रहेको संवाद फाउण्डेसनका अध्यक्ष कुमार भास्करले बताए।
उनले प्रत्येक विधामा सर्वोत्कृष्ट हुनेलाई पुरस्कृत गरिने जानकारी दिदै नेपालसहित भारत, फ्रान्स, चिन, युके, इरानसहितको देशका फिल्महरु प्रदर्शन गरिने कार्यक्रम रहेको बताए।
उनले मैथिली विकास कोषको तीन वटा हलमा स्क्रेनिङ्गको व्यवस्था गरिएको बताए। तीन दिवसीय महोत्सवमा ६२ लाख रुपियाँको लागत रहेको भन्दै विभिन्न संघ संस्थाबाट सहयोग प्राप्त भइरहेको बताए। पत्रकार सम्मेलनमा निर्णय मण्डलको रुपमा रहनु भएका फ्रान्सका कोलेटले नेपाली चलचित्रको अन्तर्राष्ट्रियकरण, युवा फिल्मकर्मीलाई उत्प्रेरित गर्ने तथा साँस्कृतिक विविधताको प्रवर्धन गर्ने महोत्सवको लक्ष्य रहेको भन्दै महोत्सवले नेपाली युवालाई प्रेरणा र अवसर दिन तथा फिल्म निर्माता एवं कलाकारबिच अनुभव आदानप्रदानको अवसर सिर्जना गर्ने बताए।
उनले स्थानीय र विश्व सिनेमा बिचको सेतु बनाउन महोत्सवले नेपाली चलचित्रलाई विश्वभरका दर्शकसम्म पुगाउँदै अन्य देशका चलचित्र र कथासँग गहिरो सम्बन्ध जोडने भन्दै यसले नेपाल र अन्तर्राष्ट्रिय समुदायबिचको सांस्कृतिक सहकार्य र सामीप्यता बढाउन मद्दत गर्ने बताए।