दार्जिलिङ: दार्जीलिङ पहाड,तराई र डुवर्सका चियाबारीको तीस प्रतिशत जमिन अन्य उद्योगको निम्ति पटक्कै नदिने अडान लिन्दै दार्जीलिङ पहाडका भाजपा अनि ट्रेड युनियनका जोइण्ट फोरमका प्रतिनिधिहरुले सांसद राजु विष्टको नेतृत्वमा कोलकातामा राज्यपालसित बेग्लाबेग्लै भेटघाट गरेका छन्। उनीहरुले बेग्लाबेग्लै ज्ञापन पत्र पनि राज्यपाललाई चढाएको जानकारी प्राप्त भएको छ। विगत५ फरवरीको दिन बंगाल बिजिनेस समिटमा घोषणा गरे लगत्तै ७ फरवरी सरकारी अधिसूचना कसरी निकालियो भन्ने सवालमा पनि प्रश्न उठाउँदै ममता ब्यानर्जी मुख्यमन्त्रीद्वारा घोषित अधिसूचना नै संविधान साथै कानून विरोधी रहेको पार्टीले राज्यपाललाई जनाएको छ साथै पहाडको चियाबारीमा कुनै फाल्तु जमिन नरहेको र जनताको हातमा रहेको जमिन नै खोसेर उद्योगपतिहरुलाई दिनु चाहेको छ राज्यपाल समक्ष जानकारी गराइएको छ। यो सरासर राज्य सरकारको अन्याय हो र यसमाथि राज्यपालद्वारा सही क्षमता प्रयोग गरिदिने अपील गरिएको छ। यस विषयमा राज्यपालले सकारात्मक वचन दिएको भाजपा दार्जिलिङ जिल्लाको प्रतिनिधिहरुले बताएका छन्। भाजपाको तर्फबाट सांसद राजु विष्ट, विधायक विशाल लामा, जिल्ला अध्यक्ष कल्याण देवान र उपाध्यक्ष एलएम लामाले प्रतिनिधित्व गरेका थिए।

यसको लगत्तै प्रतिनिधिवर्गले कोलकातास्थित टि बोर्डका डेपुटी चेयरम्यानसित पनि भेटघाट गरेर विस्तृत घटना विषयमा जानकारी गराएको छ। के चियाबारीका जमिनमा टि बोर्डको अनुमतिबिना कुनै उद्योग लगाउने राज्यको अधिकार छ साथै टि बोर्ड किन चुप छ भनी प्रश्न उठाउँदै यस मुद्दामा टि बोर्ड पनि सक्रिय भइदिने अपील गरिएको जानकारी दार्जिलिङ भाजपा अध्यक्ष कल्याण देवानले प्रेस विज्ञप्ति जारी गरी बताएका छन्।