खरसाङ: हिल तराई डुवर्स प्लान्टेशन वर्कर्स युनियनको प्रतिनिधिहरु र सिविटार चियाबारीको प्रबन्धक पक्षमाझ सभा सम्पन्न भएको छ। उक्त सभामा भागोप्रमो समर्थित श्रमिक संगठन हिल तराई डुवर्स प्लान्टेशन वर्कर्स युनियन खरसाङ महकुमा समितिको सभापति सागर गुरुङ, तीनधारे महानदी समष्टिको संयोजक राजेस थापा, सिविटार युनिट कमिटीको तर्फबाट पिंकी तामाङ, सुमन प्रधान, सुप्रिया तामाङ, महानदी ग्राम पञ्चायतको पञ्चायत सदस्य राजीव तामाङ अनि बगान प्रबन्धक पक्षबाट सिविटार चियाबारीको प्रबन्धक राजीव छेत्री र सिपाहीधुरा चियाबारीको प्रबन्धक रामस्वरूप चौधरी उपस्थित रहेका थिए। सभामा विभिन्न विषयहरुमा चर्चा परिचर्चा गरिएको छ। सभामा २०१९ मा पुरानो कम्पनी बन्सलको पालोमा अवकाशप्राप्त भएका श्रमिकहरु र कर्मचारीहरुको ग्राजुएटीको रकम यस वर्षको मार्च महिनादेखि प्रत्येक महिना पचास हजार गरेर प्रदान गरिने निर्णय गरिएको छ। सभामा यस वर्ष पाउने त्रिपल अप्रेल महिनामा प्रदान गरिने र छाता मई महिनामा प्रदान गरिने निर्णय गरिएको छ। त्यसरी नै सभामा चप्रासीको ग्रेट प्रदान गरिने र जो कर्मचारी चप्रासीको काम गर्दै आईरहेका छन् उनलाई मुन्शीको ग्रेट प्रदान गरिने निर्णयमा सहमति भएको छ। सभामा ईएलपीको दर मार्च महिनादेखि जून महिनासम्मको लागि १ रुपियाँ वृद्धि गरेर १० रुपियाँ गरिएको छ। सभामा दाउराको पैसा जुलाई महिनासम्ममा भुक्तान गरिने निर्णय गरिएको छ। त्यसरी नै सभामा सिविटार चियाबारीमा प्रत्येक श्रमिकले वर्षमा १६ हाजिरा पाउने गरेको थियो। तर विषयमा विगत केही वर्षयता प्रबन्धक पक्ष र प्रतिनिधि पक्षमाझ वाद विवाद भईरहेको थियो जसले गर्दा विगत दुई वर्षदेखि ८ हाजिरा पाएको थिएन। त्यो मोठ १६ हाजिरा दिइएको थिएन जुन अब भुक्तान गर्ने भएको छ। प्रबन्धक पक्षले यो १६ हाजिराको भुक्तान गर्न नसकिने र यसको सट्टामा प्रत्येक साल जसको घर घर बनाउँछ उनीहरुलाई एक घरको निम्ति ५० हाजिरा दिइने प्रस्ताव राखेकोले गर्दा युनियन पक्षले यसलाई असहमति जनाउँदै यस १६ हाजिरा विषयमा प्रबन्धक पक्ष, श्रमिक र कर्मचारीहरुमाझमा आपसी सर सल्लाह गरेर नै यसको ठोस निर्णय गरिने प्रस्ताव पारित गरिएको जानकारी हिल तराई डुवर्स प्लान्टेशन वर्कर्स युनियन तीनधारे महानदी समष्टिको संयोजक राजेस थापाले दिएका छन्।