गान्तोक: आज नेशनल ब्याङ्क फर एग्रीकल्चर एण्ड रूरल डेभलपमेन्ट (नाबार्ड) का महाप्रबन्धक अजय कुमार सिन्हाले सहकर्मी उप महाप्रबन्धक अनिल कुमार यादव र अन्य अधिकारीहरूसँग राज्यपाल ओम प्रकाश माथुरसॅंग राजभवनमा शिष्टाचार भेट गरे।
महाप्रबन्धकले राज्यपाललाई नाबार्डको वर्तमान गतिविधि बारे जानकारी दिए, जसमा विशेष रूपमा किसान क्रेडिट कार्ड, पेक्स, स्वयं सहायता समूहलाई प्रदान गरिने सहायता र विभिन्न एफपीओ आदि सामेल थिए।
राज्यपालले आफ्नो प्रतिक्रियामा भने, नाबार्डमा समाजको निम्ति, विशेष रूपमा ग्रामीण क्षेत्रहरूको उत्थानको निम्ति अपार सम्भावना छ। उनले जैविक उत्पादनहरूको बजारीकरणमा विशेष जोड दिए र किसानहरूले आफ्नो उत्पादनको वास्तविक मूल्य पाउने कुरा सुनिश्चित गर्न काम गर्नुपर्ने बताए। यसबाहेक, उनले सिक्किमको ग्रामीण क्षेत्रमा रहेका नाबार्डका शाखा कार्यालयहरूको बारेमा सोधपुछ गरे। उनले राज्यका महिलाहरूका लागि विशेष गरी स्वयं सहायता समूहहरूको उत्थानको लागि नाबार्ड मार्फत सहयोगमा जोड दिए।
राज्यपालले स्थानीय अर्थतन्त्रलाई बढावा दिन 2023 को सिक्किम बाढीमा नष्ट भएका अंगोरा खरायो फार्महरूको पुनर्स्थापनामा पनि जोड दिए। उनले अंगोरा खरायो फार्मको पुनरुत्थान स्थानीय किसानहरूको लागि आयको महत्त्वपूर्ण स्रोत मात्र नभएर क्षेत्रीय हस्तकला उद्योगलाई पनि बढावा दिन सक्ने बताए। उनले नाबार्डलाई यस दिशामा ठोस कदम चाल्न र ग्रामीण क्षेत्रको विकासको लागि निरन्तर काम गरिरहन आग्रह गरे।