जवाहर नवोदय विद्यालय स्थापना गर्ने प्रक्रियाबाट सांसद राजु बिष्टद्वारा खुशी प्रकट

Raju-Bist

सिलगढी: केन्द्र सरकारले कालेबुङ जिल्लामा जवाहर नवोदय विद्यालय (जेएनभी) स्थापना गर्ने प्रक्रिया शुरु गरेको खबरले आफूलाई खुशी लागेको सांसद राजु बिष्टले बताएका छन्। यस बारेमा प्रेस विज्ञप्ति जारी गरेर उनले भनेका छन्, ‘यस सम्बन्धमा पेदोङ, कागे, लिङसे, लिङ्सेखा नागरिक समाजबाट एउटा बिन्तीपत्र पाएपछि मैले यसै वर्ष जून महिनामा शिक्षा मन्त्री धर्मेन्द्र प्रधानसमक्ष यो विषय उठाएको थिएँl मैले मन्त्री धर्मेन्द्र प्रधानलाई यस बारेमा जानकारी गराएको थिएँ कि दार्जीलिङ जिल्लालाई टुक्र्याएर कालेबुङ जिल्ला बनाइएको थियो अनि १४ फरवरी २०१७ मा एउटा छुट्टै प्रशासनिक एकाईमा रूपान्तरित गरिएको थियो। मैले उनलाई मिरिकको छब्बिसेमा वर्तमान जेएनभी स्कूल दार्जीलिङ जिल्लाअन्तर्गत पर्दछ अनि पहाड़ी क्षेत्रको कठिन भौगोलिक बनोटका कारण यो स्कूलले दुई जिल्लाका आवश्यकताहरूको पूर्ति गर्न सकिरहेको छैन भन्ने जानकारी गराएको थिएँl’  

‘मैले मन्त्रीलाई कालेबुङका धेरैजस्ता जनता जीवन धान्नका लागि कृषि तथा कृषिजन्य अन्य गतिविधिहरूमाथि आश्रित छन्, जसको कारण बहुसंख्यक नानीहरूले महँगा निजी स्कूलहरूमा पढ़ाई गर्न सक्दैनन् भनी जनाएको थिएँ। त्यसैमाथि, पश्चिम बङ्गाल सरकार अनि जीटीए सञ्चालित सरकारी स्कूलहरू अपर्याप्त पूर्वाधार अनि शिक्षकहरूको कमीका कारण दयनीय हालतमा छन् र विद्यार्थीहरू गुणस्तरीय शिक्षाबाट वञ्चित छन्’, उनले विज्ञप्तिमा भनेका छन्।

मन्त्रीलाई कालेबुङ जिल्लाका नानीहरूलाई निःशुल्क गुणस्तरीय शिक्षा प्रदान गर्ने जेएनभी स्कूलहरूअन्तर्गत शिक्षार्जन गर्ने मौका दिने अनुरोध गरेको उनले बताएका छन्। आज उनलाई शिक्षा राज्यमन्त्री सुश्री अन्नपूर्ण देवीबाट पत्र प्राप्त भएको उनले बताएका छन्l उनले बताएअनुसार सो पत्रमा, ‘३१.०५.२०१४ पछि कभर नभएका जिल्लाहरूमा जेएनभीहरू खोल्ने प्रक्रिया शुरु गरिँदैछ र यसमा पश्चिम बङ्गालको कालेबुङ जिल्ला पनि समावेश गरिएको छ’ भनी जानकारी दिइएको छ। उनले ‘मलाई विश्वास छ कि जेएनभी कालेबुङ पूर्णतया स्थापित भएपछि यो क्षेत्रमा सर्वोत्तम विद्यालयहरू मध्ये एक बन्नेछ। म सबैलाई आश्वस्त पनि गर्दछु कि यसरी नै हाम्रो पार्टी भाजपाद्वारा दार्जीलिङ पहाड़, तराई अनि डुवर्सका जनतासँग गरिएका सबै वाचाहरू पूरा गर्ने सुनिश्चित गर्नेछुl’

About Author

Advertisement