सिलगढी: सिलगढी मेट्रोपोलिटन पुलिसको स्पेशल अपरेशन ग्रुप (एसओजी) ले शहरमा अनलाइन जुवाको अड्डाको भण्डाफोर गरेको छ। एसओजीले सिलगढी थाना अन्तर्गत फुलेश्वरी बजारमा अभियान चलाएर चारजना व्यक्तिलाई पक्राउ पनि गरेको छ। पुलिसले घटनास्थलबाट ८ हजार ८०० रुपियाँ पनि पाएको छ ।यस घटनामा पक्रा पर्नेहरूमा राम मण्डल, एमडी आलम, मानव दे र परिमल दास सामेल छन्। एसओजी सूत्रले दिएको जानकारी अनुसार पक्रा परेका चारजना व्यक्तिले फुलेश्वरी बजारभित्र वान डिजिट लटरीको व्यवसाय चलाइरहेको थियो। यसभन्दा अघि पनि सहरमा वान डिजिट लटरीको बिक्री हुने गर्दथ्यो भने डीडी र पुलिसको रेडको कारण यो व्यवसाय सहरमा बन्द भएको थियाे। तर पुजालाई केन्द्र गरेर एकपल्ट फेरि यो व्यवसाय शुरू गरेको एसओजीले सुइँको पाएपछि अभियान चलाएर ४ जनालाई पक्राउ गरेर सिलगढी थानालाई सुम्पिदिएको बताइएको छ। पक्रा परेका ४ जनालाई आज सिलगढी अदालतमा पेश गरियो।











