खरसाङ: मानव उत्थान सेवा समिति खरसाङ तहसिल र खरसाङ ट्राफिक पुलिसको आयोजनामा आज खरसाङमा नशा उन्मूलन दिवस पालन गर्दै रैलीको आयोजना गरिएको छ। युवाहरुलाई नशामुक्त गर्नलाई अध्यात्मिक ज्ञान पनि आवश्यक छ भन्ने उद्देश्यका साथमा उक्त नशा उन्मूलन दिवस पालन गरिएको छ। यस अवसरमा स्थानीयहरुबर विद्यार्थीहरुलाई लिएर नशामुक्त समाज साथै ड्रग्सदेखि छुटकाराको लागि सचेतना रैलीको पनि आयोजना गरिएको छ। उक्त रैली खरसाङको रेलवे स्टेशनदेखि शुरु भएको हिल कार्ट रोड हुँदै अस्पताल मोड पुगेर वर्ध्दमान रोड भएर मोटर स्ट्याण्डमा आएर समाप्त भएको छ। उक्त रैलीमा मानव उत्थान सेवा समिति खरसाङ तहसिलको पदाधिकारीहरु र खरसाङ ट्राफिक पुलिसको ओसी बीरेन्द्र छेत्री लगायत अन्यहरु उपस्थित रहेका थिए। उक्त रैलीपछि मोटर स्ट्याण्डमा आएर पथ सभा आयोजना गरेर नशा उन्मूलन दिवस विषयमा साथै ड्रग्सदेखि छुटकाराको लागि सचेतना कार्यक्रम सम्पन्न भएको छ। उक्त सचेतना कार्यक्रममा वक्तहरुले नशा उन्मूलन विषयमा वक्तव्य राखेका थिए।

उक्त नशा उन्मूलन दिवस र रैली विषयमा पत्रकारहरुसित कुराकानी गर्दै मानव उत्थान सेवा समिति खरसाङ तहसिलको सचिव अनुराधा सेवाले आज खरसाङमा नशा उन्मूलन दिवस पालन गरिएको बताउँदै युवाहरु पथ भ्रष्ट हुँदा समाजलाई अशान्ति हुन्छ भनी बताएकी छन्। उनले युवाहरुमा नशा उन्मूलन गर्नलाई युवाहरुलाई अध्यात्मापट्टि पनि ध्यान दिनुपर्दछ भनी बताएकी छन्।