जलपाईगुडी: जलपाईगुडी जिल्ला पुलिसले नक्कली सिमकार्ड बनाउने गिरोहको पर्दाफाश गरी दुई जनालाई पक्राउ गरेको छ। पक्राउ परेकाहरुलाई केन्द्रीय गुप्तचर निकायले सोधपुछ गर्नेछ।
जानकारी अनुसार केन्द्रीय साइबर अपराध कार्यालयबाट प्राप्त सूचनाका आधारमा जिल्ला पुलिस कार्यालयले नक्कली सिमकार्ड बनाउने गिरोह पर्दाफाश गर्न सफल भएको छ। थप अनुसन्धानका लागि केन्द्रीय निकाय आउँदैछ।
यस विषयमा मंगलबार दिउँसो आयोजित पत्रकार सम्मेलनमा जिल्ला पुलिस अधीक्षक उमेश खांडबहाले भने, ‘केन्द्रीय साइबर अपराध कार्यालयबाट सूचना पाएपछि मात्रै तत्काल कारबाही थालेका हौँ।
पहिलो चरणमा जिल्लाका विभिन्न पुलिस थाना क्षेत्रबाट केही व्यक्तिलाई पक्राउ गरेपछि अनुसन्धान अगाडि बढाउन एउटा विशेष अनुसन्धान टोली (एसआईटी) गठन गरिएको छ।
हालसम्म जलपाईगुडी जिल्ला पुलिसले विशेष अभियान चलाएर नक्कली सिम कार्ड जारी गर्नेलाई कडा कारबाही गरेको छ।
जिल्लाका विभिन्न थानामा चार वटा मुद्दा दर्ता भएको छ भने दुई जना पक्राउ परेका छन् र साथै ३५ नक्कली सिमकार्ड, पीओएस मेसिन र बायोमेट्रिक उपकरण बरामद भएकाे छ। यस विषयमा अनुसन्धान जारी छ।
उनले अनुसन्धानका साथै सिमकार्ड खरिद गर्दा केही समस्याका बारेमा जनचेतना जगाउने र सर्वसाधारणलाई सचेत गराउने काम भइरहेको बताए।
केन्द्रीय गुप्तचर निकायद्वारा यस घटनामा पक्राउ परेकाहरुलाई छिट्टै सोधपुछ गरिने जानकारी उनले दिएका छन्।