गान्तोक: राज्यमा फेरि एकजना १३ वर्षीया बालिकाले आत्महत्या गरेको घट्ना प्रकाशमा आएको छ। घट्ना दक्षिण सिक्किमको नाम्ची पुलिस थानाअन्तर्गत पर्ने एउटा गाउँको हो। मृतक बालिका स्थानीय एउटा जुनियर हाइस्कूलमा कक्षा आठकी छात्रा थिइन्। पुलिस सूत्रकाअनुसार हिजो अपराह्न्नको समय उनले आफ्नै घरमा पासो लगाएर आत्महत्या गरेकी हुन्। उनलाई मृत अवस्थामा सबैभन्दा पहिले उनकै आमाले देखेकी थिइन्।
पुलिसको प्रारम्भिक जाँचमा थाहा लागेअनुसार मृतक बालिकाको इच्छा घरदेखि अलिक टाड़ो रहेको अर्को स्कूलमा पढ़ने थियो। तर, कमजोर आर्थिक स्थिति साथै अन्य कतिपय कारणले अभिभावकहरू भने छोरीलाई उक्त स्कूलमा पढ़ाउन असमर्थ थिए। थाहा लागेअनुसार बालिका उक्त परिवारको एकमात्र सन्तान थिइन्। उनी आफ्नो माता-पिता र बाजेसँग बस्ने गर्थिन्। एक्लो सन्तान भएकोले उनी सबैको प्यारी थिइन्। धेरै माया गरे पनि आर्थिक स्थितिको कारण उक्त गरीब अभिभावकले आफ्नो छोरीलाई नयाँ स्कूलमा भर्ना गराउन सकेनन्। छोरीलाई जसोतसो फकाएर पुरानै स्कूलमा पढ़न राजी गराए। केही दिन अघि मात्र उनीहरूले नयाँ कक्षा उक्लेकी छोरीको लागि नयाँ यूनिफर्म र खाताकिताब किनिदिएका थिए।
मृतक बालिकाकी पिता मजदूरी गर्छन भने आमा स्थानीय एउटा कम्पनीमा काम गर्छिन्। घट्नाको दिन बिहान सबैले एकैसाथ नास्ता गरेपछि बालिकाकी माता-पिता आ-आफ्नो दैनिक काममा गएका थिए भने ६७ वर्षीय बाजे पनि खेतमा काम गर्न भनी गएका थिए। स्कूल छुट्टीको कारण घरमा एक्लै रहेकी बालिकाले पहिले आफ्नो स्कूल यूनिफर्म साथै अन्य लुगाफाट धुनुको साथै घरका अन्य कामहरू पुरा गरेकी थिइन्। त्यसपछि उपराह्नको समय घरकै सिलिङमा नाइलनको डोरीले पासो लगाएर १३ वर्षको कलिलो उमेरमा नै यस संसारबाट विदा लिइन्।