गान्तोक: राज्यको महिला, बाल, वरिष्ठ नागरिक र शारीरिकरूपमा असक्षम कल्याण विभागको पहलमा आज नाम्ची जिल्लाको जिल्ला प्रशासनिक केन्द्रमा आयोजित एक बैठकमा जिल्लास्तरीय अपाङगता समिति गठन गरियो। उक्त बैठकमा नाम्ची जिल्लाकी जिल्लापाल अनुपा तामलिङ, महकुमा अधिकारी, पिन्छो भोटिया लगायत अन्य अधिकारीहरूको उपस्थिति रहेको थियो। बैठकलाई सम्बोधन गर्दै जिल्लापालले शारीरिकरूपमा असक्षम व्यक्तिहरूलाई सेवा पुऱ्याउन योजना कार्यान्वयनसम्बन्धी महत्त्वपूर्ण निर्देशन दिइन्। उनले शारीरिकरूपमा असक्षम भएका व्यक्तिहरूको लागि तल्लो तहमा उचित सुविधाहरू प्रदान गरिएको र यसलाई विभागहरूले सुनिश्चित गर्नुपर्ने आवश्यकतामा जोड दिइन्। उनले सो व्यक्तिहरू सम्बन्धी सेवाहरूको व्यवस्थापन र सुविधाका लागि अपाङ्गता परिचयपत्र दर्ता र प्रयोग गर्ने आवश्यकतालाई प्रकाश पारिन्। यसका साथै उनले आधार कार्ड लगायत कागजपत्र प्रक्रियामा सामना गर्नुपर्ने चुनौतीहरूलाई सम्बोधन गरिन् र अपाङ्गता भएका व्यक्तिहरूको कल्याणको लागि प्रक्रियाहरूलाई सुव्यवस्थित र सुधार गर्न आग्रह गरिन्। सोही प्रकारले अतिरिक्त निर्देशक सोफियाले बैठकको उद्देश्य र जिल्लामा अपाङ्गता सम्बन्धी जिल्लास्तरीय समिति गठन गर्नुपर्ने आवश्यकतामाथि जोड दिइन्। उनले अपाङ्गतामा केन्द्रित विभिन्न योजनाहरू र कार्यहरूमाथि प्रकास पारिन्। जसमा अपाङ्गता भएका व्यक्तिहरूको सुविधाका लागि सरकारी कार्यक्रमहरू, कानुनी अधिकार र सेवाहरू समावेश छन्।