मुरारी लाल “पञ्चम”, खरसाङ
महाशिवरात्रिको पर्व शिव अनि पार्वतीको विवाहको उपलक्ष्यमा मनाइन्छ। यो पर्व शिव भक्तहरूको निम्ति अत्यन्त शुभ अनि पावन मानिन्छ। यस दिन शिवलिंगको पूजा गर्नाले विशेष फलको प्राप्ति हुँदछ। पौराणिक मान्यता अनुसार साँचो मनले भगवान शिव अनि माता पार्वतीको पूजा गर्नाले अनि व्रत राख्नाले सम्पूर्ण मनोकामनाहरू पूर्ण हुँदछ। यस दिन शिवलिंगको उत्पत्ति भएको थियो अनि भगवान विष्णु अनि ब्रह्माले शिवलिंगको पूजा गरी यसको महत्व स्वीकार गरेका थिए। यस दिन काशी,उज्जैन,वैद्यनाथ धामसहित सम्पूर्ण ज्योतिर्लिंग मन्दिरहरूमा शिव-बारात निकाल्ने प्रचलन छ। महाशिवरात्रि आध्यात्मिक चेतना अनि जागृतिको दिन हो। यस दिन रात्रि गरिने जागरणको आध्यात्मिक महत्व छ।
मान्यता अनुसार महाशिवरात्रिको दिननै भगवान शिव अनि माता पार्वती एक-अर्कासित विहेको बन्धनमा बाँधिएका थिए। यस दिन पूजा गर्नाले दाम्पत्य जीवनमा मधुरता आउने गर्दछ अनि प्रत्येक दु:खको निवारण हुँदछ। शिवरात्रि अनि महाशिवरात्रिको भिन्नता अनुसार शिवरात्रि प्रत्येक महीना कृष्ण पक्षको चतुर्दशीको दिन मनाइन्छ, तर महाशिवरात्रि वर्षमा एक दिन फाल्गुन महिनाको कृष्ण पक्षको चतुर्दशीको दिन मनाइन्छ। शिवरात्रिको दिन भगवान शिवको पूजा मात्र गरिन्छ, तर महाशिवरात्रिको दिन भगवान शिव अनि माता पार्वती दुवैको पूजा गरिन्छ। महाशिवरात्रिको महत्व शिवरात्रि भन्दा धेरै गुणा अधिक हुँदछ।
महाशिवरात्रिको एक पौराणिक कथा अनुसार माता पार्वतीले भगवान शिवलाई पतिको रूपमा प्राप्त गर्नको निम्ति कठोर तप गरेका थिए। उनको भक्तिले प्रसन्न भएर शिवजीले फाल्गुन महिनाको कृष्ण चतुर्दशीको दिन उनीसित विवाह गरेका थिए। यसकारण यस दिन शिव अनि शक्तिको मिलनको रूपमा पनि मनाइने गरिन्छ। हिन्दू धर्ममा महाशिवरात्रिको एउटा छुट्टै महत्व छ। यस दिनलाई भगवान शिवको प्रति आफ्नो भक्ति अनि श्रद्धा प्रकट गर्ने एक विशेष अवसर मानिन्छ।यसै दिन भगवान शिव पहिलो पल्ट ज्योतिर्लिंगमा प्रकट भएका थिए। यसकारण यस दिनलाई महाशिवरात्रिको रूपमा मनाइन्छ। यो दिन भगवान शिवको पूजा अनि आराधनाको निम्ति समर्पित छ।