दुबई: भारतले आफ्नो चीरप्रतिद्वन्द्वी पाकिस्तानलाई आइतवार ६ विकेटले पराजित गरी आईसीसी च्याम्पियन्स ट्रफीको सेमिफाइनलमा प्रवेश गऱ्यो। दिग्गज ब्याटर विराट कोहली (अविजित १००)-ले शतकको साथ फर्म हासिल गर्नको साथै भारतलाई जीत दिलाए। ग्रुप ए-को यस म्याचमा टस जितेर पहिला ब्याटिंग गर्दै पाकिस्तान ४९.४ ओभरमा २४१ रन बनाएर अलआउट भयो। त्यसपछि भारतले ४२.३ ओभरमै ४ विकेटमा २४४ रन बनाएर म्याच जित्यो। यो भारतको लगातार दोस्रो जीत हो अनि यसको साथै रोहित शर्माको टीम २ वटा म्याचमा ४ पोइण्ट्सको साथ ग्रुप ए-को शीर्ष स्थानमा पुग्यो। पाकिस्तानको चाहिँ यो लगातार दोस्रो हार हो। यस हारको साथै पाकिस्तानको निम्ति सेमिफाइनलमा पुग्ने सम्भावनालाई ठूलो झट्का लागेको छ। कोहलीले आज १११ बल खेलेर ७ वटा चौका लगाए। वनडे इण्टरनेशनल क्रिकेटमा यो उनको रेकर्ड ५१औं शतक हो। आक्रामक मिजासमा रहने कप्तान रोहित (१५ बलमा २० रन) पाँचौं ओभरमै आउट भएपछि कोहलीले शुभमन गिलसँग दोस्रो विकेटको निम्ति ६९ रन अनि श्रेयस अय्यरसँग तेस्रो विकेटको निम्ति ११४ रनको पार्टनरशीप गरी पाकिस्तानको हार सुनिश्चित गरे। गिलले ७ वटा चौकाको साथ ५२ बलमा ४६ रन अनि श्रेयसले ६७ बल खेलेर ५ वटा चौका र एउटा छक्काको साथ ५६ रन बनाए। भारतले पछिबाट श्रेयस र हार्दिक पाण्ड्या (८)-को विकेट गुमाए पनि कोहलीले अक्षर पटेल (अविजित ०३) सँग मिलेर भारतलाई जीत दिलाए।
यसअघि पाकिस्तान ४९.४ ओभरमा २४१ रन बनाएर अलआउट भयो। पाकिस्तानको निम्ति एकमात्र सऊद शकीलले अर्द्धशतक बनाउन सके। उनले ७६ बल खेलेर ५ वटा चौकाको साथ ६२ रन बनाए। यसबाहेक कप्तान मोहम्मद रिजवानले ४६, खुशदील शाहले ३८ र बाबर आजमले २३ रनको योगदान दिए। भारतीय बलरहरूमा स्पिनर कुलदीप यादवले ३ र हार्दिक पाण्ड्याले २ विकेट लिए। पाकिस्तानको निम्ति बाबर र इमाम-उल-हकले पहिलो विकेटको निम्ति ५० बलमा ४१ रन जोड़े। बाबरलाई हार्दिक पाण्ड्या ले आउट गरे। त्यसको लगत्तै पछि इमाम पनि रन आउट भए, जसले १० रन बनाए। यसरी ४७ रनमा २ विकेटको पतनपछि शकील र कप्तान रिजवानले धैर्यको साथ खेल्न शुरु गरे। यी दुईजनाले शतकीय पार्टनरशीप गरे पनि धीमा ब्याटिंग गरेर तल्लो क्रममाथि दबाउ सृष्टि गरे। शकील र रिजवानले तेस्रो विकेटको निम्ति १०४ रन योग गरे। अक्षरको शिकार बन्ने रिजवानले ७७ बल खेलेर ३ वटा चौका लगाए। त्यसको लगत्तै पछि शकील पनि आउट भए। त्यसपछि पाकिस्तानले तेजीको साथ रन बनाउने प्रयासमा भटाभट विकेट गुमायो। खुशदीलले अन्तिम ओभरहरूमा २ वटा छक्का लगाए। कोहलीले प्लेयर अव् द म्याच-को पुरस्कार जिते।