गान्तोक: राज्यका मुख्यमन्त्री प्रेमसिंह तामाङले आज पद्भश्री तुलाराम उप्रेतीलाई अन्तिम श्रध्ञ्जली अर्पण गरे। उनले मृतक उप्रेतीको निजी निवास आसमलिङजेमा पुगेर अन्तिम श्रद्धाञ्जली अर्पण गरेका हुन्। दिवंगत आत्माप्रति सम्मान व्यक्त गर्दै पद्मश्री स्वर्गीय तुलाराम उप्रेतीको अन्तिम संस्कार जालीपुलको शान्तिघाटमा पूर्ण राजकीय सम्मानका साथ गरियो। सिक्किम सशस्त्र प्रहरी (एसएपी) का प्लाटुनले उनको योगदानको सम्मानस्वरूप औपचारिक गार्ड अफ अनर दिए। मुख्यमन्त्रीले पद्मश्री उप्रेतीलाई कृषि र जैविक खेतीमा अग्रणीको रूपमा प्रशंसा गर्दै सिक्किमको दिगोपन यात्रामा उनको महत्वपूर्ण भूमिकामाथि प्रकाश पारे। उनले परम्परागत खेतीपातीप्रति उप्रेतीको समर्पणले पुस्तालाई प्रेरणा दिएको र राज्यलाई ठूलो गौरव दिएको उल्लेख गरे। मुख्यमन्त्रीले बताएअनुसार उप्रेतीको विरासतले भावी पुस्तालाई समृद्धि र दिगोपनतर्फ मार्गदर्शन गरेको छ। यस अवसरमा मुख्यमन्त्री तामाङसँग मन्त्री राजु बस्नेतलगायत अन्यहरू पनि सामेल रहेका थिए।